सुपादेउराली मन्दिरमा केबलकार निर्माणको तयारी : धार्मिक पर्यटन प्रवर्द्धनतर्फ नयाँ पाइला
दाङ । लुम्बिनी प्रदेशकाे पवित्र धार्मिक आस्थाको प्रतीक सुपादेउराली मन्दिर अब केबलकारको सुविधासहित थप आधुनिक हुँदै छ । कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रुपन्देहीलगायतका जिल्लाबाट मात्र नभई भारतको उत्तर प्रदेश र बिहारबाट समेत दर्शनार्थी आउने सुपादेउराली मन्दिर नजिकै केबलकार निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–१३ स्थित सुपादेउराली मन्दिरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको केबलकार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म सञ्चालन गरिनेछ ।
यही असार १३ गते सम्पन्न नगर कार्यपालिकाको बैठकले सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
पछिल्ला वर्षहरूमा मन्दिरमा श्रद्धालुहरूको आगमनमा उल्लेख्य वृद्धि भएको छ। मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालका अनुसार विशेषगरी धार्मिक पर्व र भाकल गर्ने समयमा दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ।
वडा नं ७ का अध्यक्ष चुराबहादुर केसीका अनुसार भारतका विभिन्न राज्यबाट समेत भक्तजनहरू आउने गरेकाले अब केबलकार निर्माणले यहाँको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सुपादेउराली मन्दिर कडा चट्टानको पहाडको छेउमा अवस्थित छ। कष्टपूर्ण यात्रा पार गरेर पुगिने यो मन्दिरमा ‘मनले मागेको पुग्ने’ भन्ने जनविश्वास रहेको छ। कठिन परिस्थिति वा समस्या आइपरेमा सुपादेउरालीमा भाकल गरेपछि कष्ट टर्ने विश्वास जनमानसमा गहिरो रूपमा जरा गाडेको छ। मन्दिरमा देवीलाई पाठी, बोकाको बली चढाउने परम्परा अझै जीवित छ।
अब केबलकारको निर्माणपछि मन्दिरसम्मको यात्रा सहज हुने मात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनसँगै स्थानीय आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। धार्मिक पर्यटनसँगै प्राकृतिक सौन्दर्यले भरिएको यो क्षेत्र पर्यटकहरूको नयाँ गन्तव्य बन्ने सम्भावना झनै बढेको छ।








