संसदीय प्रणाली खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो: अध्यक्ष दाहाल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको टिप्पणी गरेका छन् ।
बिहीवार काठमाडौँमा समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको बताएका हुन् ।
अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको जिकिर गरे । निजामति विधेयकमा कुलिङ पिरियडबारे बोल्दै उनले देखाउँदा खसीको टाउको देखाइएको तर बेच्दा कुकुरको मासु बेचेको जस्तो रहेको टिप्पणी गरे ।
आफू सरकारमा रहँदा आफू प्रत्येक पटक समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गरे । अध्यक्ष दाहालले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको दाबी गरे । नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै समाजवादको जग बसाल्न कम्युनिष्टहरुले नै शुरु गर्नुपर्ने बताए ।








