राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु : आफन्त आक्रोशित, अस्पतालमा तनाव

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलाको ज्यान गएपछि अस्पताल परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । सुत्केरीका आफन्तले चिकित्सकमाथि लापरवाहीको गम्भीर आरोप लगाउँदै प्रदर्शन र हातपात गरेका छन् ।
मृतक २१ वर्षिया गुड्डी सुनार घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोलकी थिइन् । उनलाई सुत्केरी पीडा भएपछि आज बिहान ४ बजे प्रतिष्ठान ल्याइएको थियो ।
चिकित्सकहरूले सुरुवाती चरणमा सामान्य रूपमा प्रसूति हुने आश्वासन दिए पनि, अवस्था जटिल बनेपछि शल्यक्रियामार्फत छोरीको जन्म गराइएको थियो। तर अपरेशनपछि केही समयमै गुड्डीको मृत्यु भयो ।
घटनापछि पीडित परिवारले अस्पतालको अपरेशन कक्षसम्म पुगेर केही चिकित्सकमाथि हातपात समेत गरेको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
मृतकका ससुरा महावीर सुनारले घटनामा चिकित्सकीय लापरवाही भएको दाबी गर्दै न्याय नपाएसम्म शव नउठाउने चेतावनी दिएका छन् । साथै, नवजात शिशुको उचित उपचार र पीडित परिवारलाई क्षतिपूर्तिको माग पनि गरिएको छ।
प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले घटनाबारे प्रारम्भिक जानकारी सङ्कलनको प्रक्रिया भइरहेको र विस्तृत विवरणपछि मात्रै सत्यतथ्य सार्वजनिक गरिने बताए ।
हाल अस्पताल परिसरमा प्रहरीको उपस्थिति रहेको छ। तनाव कम गर्न प्रशासन र पीडित पक्षबीच वार्ता चलिरहेको बताइएको छ।
स्वास्थ्य संस्थामा यस्तो प्रकारको घटना दोहोरिनु नदिन र चिकित्सा सेवा प्रतिको जनविश्वास कायम राख्न यस्ता घटनाको छानबिन पारदर्शी ढंगले हुनुपर्ने आवाजहरू उठ्न थालेका छन् ।