फेरि बढ्न थाल्यो कोभिड–१९ सङ्क्रमण : नेपालका ३१ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा कोभिड–१९ को सङ्क्रमण फेरि विस्तार हुँदै गएको संकेत देखिएको छ । पछिल्लो केही महिनामा मुलुकका विभिन्न जिल्लामा सङ्क्रमणका घटना दर्ज हुन थालेका छन् ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार २०७८ पुस १७ गतेदेखि २०७९ असार १९ गतेसम्मको अवधिमा देशभरका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । यस अवधिमा कुल २४९ जनामा कोभिड–१९ संक्रमण देखिएको छ ।
महाशाखाका अनुसार पछिल्लो एक हप्तामै ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै तीन जना संक्रमित थपिएका छन् । कोभिड–१९ बाट हालसम्म एक जनाको ज्यानसमेत गइसकेको छ ।
सङ्क्रमणको क्रमशः विस्तार र जोखिम बढिरहेको जनस्वास्थ्य अधिकारीहरूले बताएका छन् । विशेषगरी सीमा क्षेत्र तथा मुख्य नाकाबाट प्रवेश गर्ने व्यक्तिमार्फत संक्रमण फैलन सक्ने जोखिम उच्च देखिएकोले स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाएको छ ।
कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा सीमा नाकामा हेल्थ डेस्कहरूलाई थप सक्रिय बनाएको जनाएको छ । ती हेल्थ डेस्कमार्फत यात्रुहरूको स्वास्थ्य परीक्षण, लक्षणको निगरानी, आवश्यक परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार यद्यपि अहिले देखिएको संक्रमणको दर तुलनात्मक रूपमा कम देखिए पनि सतर्कता नअपनाए पुनः महामारीको रूप लिनसक्ने सम्भावना कायमै छ ।
मन्त्रालयले आम नागरिकलाई सावधानी अपनाउन, भीडभाडयुक्त स्थानमा मास्क प्रयोग गर्न, नियमित हात धोइराख्न तथा लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।
सरकारले परीक्षण क्षमतामा सुधार, निगरानी प्रणालीलाई चुस्त बनाउने तथा खोप कार्यक्रमलाई निरन्तरता दिने योजनाका साथ कोभिड–१९ नियन्त्रणमा काम गरिरहेको जनाएको छ ।