२६ असार २०८२, बिहिबार
मलेसियामा नेपाली किशोरहरूले काेरेकाे गौरवगाथा

नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कपकाे उपाधि

प्रकाशित मिति :  5 July, 2025 1:16 pm


दाङ । आज मलेसियाको यूकेएम वाइएसडी ओभल मैदानमा नेपाली यू–१६ टोलीले क्रिकेटमा गाैरव गाथा काेरे । लामाे समयदेखि नेपालीहरुले देखेकाे सपना साकार पारे ।

सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि उचालेको हो । यो केवल जित थिएन, यो भविष्यका सम्भावनामा जमिएको विश्वासको जीत थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा जम्मा ११३ रन बनाउन सकेको थियो। विपक्षी टोलीका रोहन अस्टिनले सर्वाधिक २३ रन बनाउँदा ९० भन्दा बढी बल खेले। उनीसँगै रिहान नाइकले १५ रन बनाए ।

सिंगापुरको इनिङ थाम्न नेपालका बलरहरूले निर्णायक भुमिका खेले । अभय यादवले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए। सुशिल बहादुर रावलले पनि ३ विकेट लिँदा शुभम खनालले २ र कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए। उनीहरूको तालमेल र निरन्तर दबाबका कारण विपक्षी टोली लामो समय टिक्न सकेन ।

११४ रनको लक्ष्य सामान्य देखिए पनि, फाइनलको दबाब जहिले पनि असामान्य हुन्छ। नेपालले यो लक्ष्य २९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

सुरुआत केही असहज रह्यो, तर जोय थापाले अविजित २४ रनको संयमी पारी खेलेर टोलीलाई विजयको किनारमा पुर्‍याए । सिंगापुरले बलिङमा शिस्त देखाए पनि नेपाली युवा खेलाडीहरूको धैर्य र आत्मविश्वास अडिग रह्यो। यही संयम र आत्मबलले नेपाललाई उपाधिको शिखरमा पुर्‍यायो ।

नेपाल यस प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो। समूह चरणमा पनि नेपालले सिंगापुरलाई नै पराजित गरिसकेको थियो। साविक विजेता नेपालको यसपटकको यात्रा सुरुदेखि अन्त्यसम्म नियन्त्रण र संकल्पको नमूना बन्यो । यो जित प्रतियोगिताको अंकतालिकामा मात्र होइन, नेपाली क्रिकेटप्रेमीका हृदयमा पनि अमिट बन्न पुगेको छ।

आजको विजय, भविष्यको सूचक बनेर आएको छ । ८५ लाख जनशक्ति कृषिमा निर्भर रहेको देशका लागि क्रिकेट जस्तो खेलले अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै गर्दा यस्तो जितले राष्ट्रिय मनोबललाई थप उचाइ दिएको छ। किशोर उमेरमै यस्तो प्रदर्शन गर्नु नेपाली खेल प्रणालीको सम्भाव्यताको उदाहरण हो ।

जोय, अभय, सुशिल, शुभम जस्ता खेलाडीहरू अब केवल यू–१६ टोलीका सदस्य मात्र होइनन्, राष्ट्रिय क्रिकेटको भोलीका आधारस्तम्भ हुन् ।

यो उपाधि नेपाली क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण अध्याय हो-जहाँ जितको अंकभन्दा धेरै, प्रयासको गहिराइ लेखिएको छ। यस जितसँगै हामीले फेरि एकपटक महसुस गर्‍यौं-क्रिकेट केवल खेल होइन, त्यो सपना हो, जसलाई यस्ता नवनायकहरूले ब्याट र बलमार्फत् आकार दिइरहेका छन्।



प्रतिक्रिया दिनुहोस !