१९ मंसिर २०८२, शुक्रबार

ल्हेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति : हेलिकप्टरमार्फत् उद्धार कार्य जारी

प्रकाशित मिति :  8 July, 2025 10:22 am


रसुवा । नेपाल–चीन सीमा नजिकैको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवा जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको इभी चार्जिङ स्टेसनमा राखिएका सात–आठवटा गाडी बगाएको पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले रसुवागढी भन्सार कार्यालयको यार्डमा समेत क्षति पुर्‍याएको छ, जहाँ राखिएका आठ–नौवटा लोड भएका कन्टेनरहरू बगाइसकेका छन् । सोही बाढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी प्राप्त भएको छ ।

घटनापछि सशस्त्र प्रहरी बल रसुवाबाट तालिमप्राप्त सातसहित २१ जनाको उद्धार टोली सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा घटनास्थलतर्फ खटिएको सशस्त्र प्रहरीका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

स्याफ्रुबेँसी–रसुवागढी सडक अवरुद्ध, मितेरी पुल बगायो

बाढीका कारण भोटेकोशी नदीको बहाव उच्च भएकाले गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा पहिरो र सडक कटान भएको छ । साथै, नेपाल–चीन मित्रता प्रतिकका रूपमा रहेको मितेरी पुल समेत बगाएको प्रहरी स्रोतले जनाएको छ।

हराइरहेका १५ जनासहित ३७ जनासँग सम्पर्कविहीन

बाढीका कारण ३७ जना व्यक्तिहरूसँग सम्पर्क हुन सकेको छैन । जसमध्ये २२ जना सुरक्षित स्थानमा पुगेको पुष्टि भए पनि बाँकी १५ जना अझै सम्पर्कविहीन रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए । उद्धार कार्यका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ तर प्रतिकूल मौसमका कारण हालसम्म उडान हुन सकेको छैन ।

यसैबीच, चीनतर्फको भारी वर्षाका कारण नुवाकोटको त्रिशूली नदीमा पनि बहाव बढेको छ । नुवाकोटको विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ दाउरा काट्न नदी किनारमा गएका बेला आकस्मिक बाढीमा फसेका थिए । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

हेलिकप्टर त्रिशूलीमा तयारी अवस्थामा

गृह मन्त्रालयका अनुसार उद्धार कार्यलाई तिव्रता दिन हेलिकप्टर नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको छ। तर लगातारको वर्षा र कुहिरोका कारण रसुवाको आकाशमा हेलिकप्टर उडाउन कठिन भएको मन्त्रालयको सचिवालयले जनाएको छ।

ल्हेन्दे खोलाको बहाव अझै कम नहुनु र भोटेकोशी नदीको सतह उच्च रहनुका कारण प्रभावित क्षेत्रमा थप जोखिम कायमै रहेको प्रहरी र स्थानीय प्रशासनले जनाएका छन् । संभावित थप क्षति रोक्न र सम्पर्कविहीनहरूमाथि ध्यान केन्द्रित गर्दै खोजी तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ ।

सरकार, सुरक्षा निकाय र विपद् व्यवस्थापन निकायहरू उच्च सतर्कताका साथ परिचालित छन् भने प्रभावित जनतालाई सुरक्षित स्थानमा सार्ने प्रयास जारी रहेको छ। स्थिति अझै खतरामुक्त भइनसकेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस !