२० मंसिर २०८२, शनिबार

देखिदै आर्थिक सुधारको संकेत : विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

चालु आर्थिक वर्षको ११ महिनासम्ममा चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बचतमा प्रत्यक्ष वैदेशिक लगानीमा पनि वृद्धि देखिँदै
प्रकाशित मिति :  8 July, 2025 4:18 pm


काठमाडाैँ । नेपालको आर्थिक स्थायित्वका दृष्टिले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्मको तथ्यांकहरूले सकारात्मक संकेतहरू देखाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएको चालु खाता, शोधनान्तर स्थिति, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) र विदेशी विनिमय सञ्चिति (फरेक्स रिजर्भ) का सूचकहरू सुधारोन्मुख देखिएका छन्, जसले देशको बाह्य क्षेत्र (external sector) सुदृढ हुँदै गएको प्रमाण दिन्छ ।

चालु खाता र शोधनान्तर स्थिति : बहिर्मुखी सन्तुलनमा सुधार
चालु खाता कुनै पनि देशको वस्तु, सेवा, आम्दानी र चालु स्थानान्तरणको अभिलेख हो, जसले राष्ट्रको कुल विदेश व्यापारको समग्र प्रभाव झल्काउँछ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा देखिएको तथ्यले यस क्षेत्रमा सुधार आएको संकेत गर्छ।

यस्तै, शोधनान्तर स्थिति पनि ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६५ अर्बले बढी हो ।

यो परिदृश्यले नेपालको विदेशी मुद्रा प्रवाह व्ययभन्दा धेरै भएको देखाउँछ, जुन प्रायः रेमिट्यान्स वृद्धि, पर्यटन आम्दानी तथा विदेशी सहायता र लगानीको असर हो ।

प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि
प्रत्यक्ष वैदेशिक लगानी नेपालजस्तो विकासोन्मुख अर्थतन्त्रका लागि दीर्घकालीन संरचना विकास, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणको महत्वपूर्ण स्रोत हो ।

चालु आर्थिक वर्षको ११ महिनामा रु ११ अर्ब ९ करोड बराबरको एफडीआई भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३ अर्ब रुपैयाँले बढी हो ।

यद्यपि यो संख्या विश्व मापदण्डमा अत्यन्तै न्यून हो, तर वृद्धि दर सकारात्मक रहेकोले सरकारी तथा निजी क्षेत्रका नीति र प्रयासहरूले केही सफलता पाइरहेका छन् भन्ने मान्न सकिन्छ ।

विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय सुधार
सबैभन्दा उल्लेखनीय सुधार भने विदेशी विनिमय सञ्चितिमा देखिएको छ । चालु आर्थिक वर्ष सुरु हुँदा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको सञ्चिति ११ महिनामा २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये राष्ट्र बैंकसँग २२ खर्ब ७४ अर्ब ४७ करोड र बाँकी बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

यो सञ्चितिले वस्तु आयातका लागि १७.६ महिनाको र वस्तु तथा सेवा आयातका लागि १४.७ महिनाको परिपूर्ति गर्न सक्ने अवस्था बनाएको छ, जुन अन्तर्राष्ट्रिय स्तरमा अत्यन्त सुरक्षित मानिन्छ । यसले अर्थतन्त्रमा स्थायित्व, नीति निर्माणमा आत्मविश्वास र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने वातावरण सिर्जना गर्छ ।

भारतीय मुद्राको अंश : आर्थिक अन्तरनिर्भरता
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०.५ प्रतिशत रहेको तथ्यले नेपाल र भारतबीचको व्यापारिक र वित्तीय अन्तरनिर्भरता झल्काउँछ ।

भारतसँगको खुला सिमाना, उच्च व्यापारिक सम्बन्ध र रेमिट्यान्स प्रवाहका कारण भारतीय रुपैयाँको अंश सधैंजसो उच्च रहँदै आएको छ। यसले नेपाली मुद्राको विनिमय दर स्थायित्वमा पनि भूमिका खेलिरहेको हुन्छ ।

विगत केही वर्षका निराशाजनक आर्थिक संकेतकहरूबीच चालु आर्थिक वर्षको यी आँकडाहरू स्वागतयोग्य छन् । विशेषतः विदेशी विनिमय सञ्चिति र चालु खाता सन्तुलनमा देखिएको सुधारले राष्ट्रको मुद्रा संकटको सम्भावना घटाएको छ ।

यसले मूल्यवृद्धिमा नियन्त्रण, ब्याजदर स्थिरता, र दीर्घकालीन पूँजीगत परियोजनामा लगानी गर्न सहज वातावरण सृजना गर्छ तर यस्ता सुधारहरूलाई दीर्घकालीन रुपमा स्थायी बनाउन चाहिने प्रमुख चुनौतीहरू यथावत् छन्। उत्पादनमूलक क्षेत्रमा सुधार, व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना, र नीति स्थायित्व अझै पनि जोखिमयुक्त पक्षहरू हुन् ।

यदि सरकार र निजी क्षेत्रले यिनै आर्थिक संकेतकहरूको आधारमा दीर्घकालीन रणनीति अपनाए, त छिट्टै नै नेपालको अर्थतन्त्र संकटबाट दिगो समृद्धिको बाटोमा उन्मुख हुन सक्छ । आर्थिक आँकडाहरू सुधारोन्मुख छन्-अब नीति कार्यान्वयन पनि त्यसै अनुरूप हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस !