१९ मंसिर २०८२, शुक्रबार

देशभर सक्रिय मनसुन : गण्डकीदेखि सुदूरपश्चिमसम्म बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

प्रकाशित मिति :  9 July, 2025 6:44 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशका अधिकांश भागमा आंशिकदेखि साधारण बदली तथा कतिपय स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीसहित मौसम मुख्यतः सफा छ। तर, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति वर्षा अझ बढ्ने अनुमान

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका सबै प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र अन्य क्षेत्रमा थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि मौसम बदली नै रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा र अन्य केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना प्रक्षेपण गरिएको छ।

बाढी, पहिरो र भूक्षयको उच्च जोखिम

लगातारको वर्षा र आगामी सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम पनि उच्च रहेको महाशाखाले चेतावनी दिएको छ। विशेषगरी पहाडी तथा हिमाली भूभागमा यात्रा गर्दा, खोलानाला आसपास बसोबास गर्ने नागरिकहरूले विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाको आग्रह छ।

यसैबीच, मौसमविद्हरूले जलस्रोत नजिकका बस्ती, नदी किनार र ढल प्रवाह भएका क्षेत्रहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सावधानी अपनाउन अपिल गरेका छन्। विशेष गरी साना खोला तथा नदीको बहावमा एक्कासी वृद्धि हुन सक्ने सम्भावना रहेकाले स्थानीय प्रशासन र विपद् व्यवस्थापन निकायले तयारी अवस्थामा रहनुपर्ने उनीहरूको सुझाव छ।

मनसुन अझ केही समय सक्रिय रहने देखिएकाले जनजीवनमा प्रभाव पर्ने सम्भावना उच्च छ। विशेषगरी सडक यातायात, कृषि गतिविधि, निर्माण कार्य, तथा हिमाली पर्यटनमा प्रत्यक्ष असर पर्ने अवस्था छ । अतः नागरिकहरू, यातायात व्यवसायीहरू र स्थानीय तहहरूले सम्भावित जोखिमप्रति समयमै सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

मौसम परिवर्तनको यो संवेदनशील घडीमा सावधानी नै मुख्य सुरक्षा उपाय हो। महाशाखाले अनावश्यक यात्राबाट बच्न, नदी-खोला पार गर्दा विशेष ध्यान दिन र आवश्यक परेमा स्थानान्तरणको तयारी राख्न समेत सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !