संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो छः सांसद नेम्वाङ
प्रकाशित मिति : 9 July, 2025 4:43 pm
काठमाडाैँ । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहसको खाँचो रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले यस्तो बताएका हुन् । उनले संसदको अधिकांश समय आरोप–प्रत्यारोप र असंसदीय व्यवहारमा खर्चिँदा मूल उद्देश्य नै ओझेलमा परेको धारणा राखे ।
उनले संसदको समय शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र विकास जस्ता क्षेत्रमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नीति नियमहरुलाई अझै प्रभावकारी बनाएर जनतामा सकारात्मक सुधार भएको सन्देश दिनु अपरिहार्य रहेको बताए ।
उनले सच्चिने कामहरुको सुरुवात संसदबाटै हुनुपर्ने भन्दै संसदमा तथ्यहीन बोल्ने सांसदलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले संसदमा उठेका प्रश्नहरूको समयमै जवाफ दिन मन्त्रीहरूकाे समेत ध्यानाकर्षण गराए ।








