एसीसी यु–१६ कप विजेता खेलाडी र प्रशिक्षकलाई लुम्बिनी प्रदेश सरकारद्वारा नगदसहित सम्मान
दाङ । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्ले प्रति खेलाडी एक लाख र प्रशिक्षकलाई ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । बिहीबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित एक कार्यक्रममार्फत प्रदेश खेलकुद परिषद्का सदस्य सचिव टिरनदाज गौतमले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लमही नगरपालिका–५, दाङ निवासी शुभम खनाल, कृष्णनगर कपिलवस्तु निवासी रौनक श्रीवास्तव र घोराही उपमहानगरपालिका निवासी प्रशिक्षक पुरणसिंह खत्रीलाई नगद, प्रमाणपत्र र खादा ओढाएर सम्मान गरेका हुन् ।
खेलाडी खनाल र श्रीवास्तवले जनही एक लाख रुपैयाँ तथा प्रशिक्षक खत्रीले ५० हजार रुपैयाँ सम्मान स्वरूप प्राप्त गरेका छन् ।सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष प्रदीप मजगैयाँ, नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव कैलाश रोका मगरलगायतको उपस्थिति थियो ।
सदस्य सचिव गौतमले खेल क्षेत्रको विकास र खेलाडीहरूमा उत्साह थप्नका लागि सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, “खेल क्षेत्रको विकासका लागि खेलाडीहरूमा उत्साह थपिन जरुरी छ । प्रदेश सरकारले सबै खेल क्षेत्रलाई समान दृष्टिकोणले सहयोगको हात बढाइरहेको छ । प्रदेश सरकारले यसैगरी खेल क्षेत्रको विकासमा भूमिका बढाइरहेको छ ।”
सम्मान प्राप्त खेलाडी तथा प्रशिक्षकहरूले प्रदेश सरकारको यो कदमले आफूहरूलाई थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् ।








