१९ मंसिर २०८२, शुक्रबार

बाँकेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण : भूमिहीन समस्या समाधानमा सरकारको सक्रियता

प्रकाशित मिति :  10 July, 2025 2:12 pm


बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीहरूको समस्या समाधानलाई प्राथमिकतामा राखेर सरकार तीव्र रूपमा क्रियाशील रहेको बताएका छन् ।

कोहलपुर नगरपालिकाको व्यवस्थापनमा भूमि समस्या समाधान आयोग बाँकेको आयोजनामा बिहीवार कोहलपुरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री आचार्यले अव्यवस्थित वसोवासीहरूलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गर्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले भने, “संघीय सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित वसोवासीको हातमा जग्गाको लालपुर्जा पुर्‍याउने अठोटका साथ काम अघि बढाएको छ । यसमा प्रदेश सरकारको साथ र सहकार्य रहेको छ। भूमिको समस्या स्थायी रूपमा समाधान गर्दै भूमिहीन नागरिकलाई जग्गाको मालिक बनाउने वर्तमान सरकारको स्पष्ट चाहना हो ।”

वर्षौंसम्म भूमि अधिकारबाट वञ्चित रहनुपरेका नागरिकहरूलाई न्याय दिलाउने प्रक्रियामा सरकार दृढताका साथ लागिपरेको उनको भनाइ थियो । उनले अव्यवस्थित वसोवासीहरूले उठाएका समस्याहरू समाधान गर्न प्रदेश सरकारले संघीय सरकारसँग निरन्तर समन्वय गरिरहेको समेत जानकारी दिए ।

“भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर र संवेदनशील भएको छ,” मुख्यमन्त्री आचार्यले कार्यक्रममा जोड दिए ।

उक्त कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १ का एक सय २२ जना अव्यवस्थित वसोवासीहरूलाई लालपुर्जा वितरण गरिएको थियो ।

कार्यक्रम भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालको अध्यक्षता, तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सरकारको यस प्रयासले भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका नागरिकहरूलाई न्याय दिलाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !