देशभर मनसुनी प्रभाव कायमै : भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशभर हाल मनसुनी वायुले सक्रियता जनाइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानको आसपास तथा पश्चिमतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेकोले मौसममा व्यापक प्रभाव देखिएको हो ।
यसकै कारण कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै, दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र वाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख गरिएको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
रातिको समयलाई लिएर महाशाखाले थप सतर्कता अपनाउन आग्रह गरेको छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । यी प्रदेशका केही स्थानमा रातको समयमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वर्षासँगै बाढी, पहिरो र गेग्रान बहावको सम्भावना बढेकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सहरी तथा तराई क्षेत्रका केही भूभागमा डुबानको जोखिम उच्च रहेकोले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।
महाशाखाले ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, जसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको छ । यस्ता संभावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी गर्न आम नागरिक र सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।








