२० मंसिर २०८२, शनिबार

समृद्धिका लागि सरकार, युवा र महिला उद्यमी सँगै अघि बढ्नुपर्छ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  11 July, 2025 2:42 pm



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार, युवा तथा महिला उद्यमीबीच सहकार्य अपरिहार्य भएको बताएका छन् ।

महिला उद्यमी महासङ्घद्वारा आयोजित ‘अन्तरराष्ट्रिय महिला नेतृत्व सम्मेलन–२०८२’ को आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकासबाट मात्र दीगो समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

उनले भने, “हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ। सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च प्राथमिकतामा राखेको छ। यो सम्मेलनबाट प्राप्त हुने सुझाव र निष्कर्षहरूले सरकारका योजनाहरूलाई सार्थक बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु।”

प्रधानमन्त्री ओलीले नेपालको संविधानमा सुनिश्चित गरिएको महिलाको सशक्तिकरणको व्यवस्था व्यवहारमा समेत प्रभावकारी रूपमा कार्यान्वयन भइसकेको उल्लेख गरे ।

उनले तीनै तहका सरकारमा कम्तीमा ३३ प्रतिशत महिला जनप्रतिनिधि सुनिश्चित गरिएको, विद्यालयमा छात्राहरूको सङ्ख्या छात्राहरूभन्दा बढी रहेको, र परीक्षाफलमा समेत उनीहरूको प्रदर्शन उल्लेखनीय बन्दै गएको तथ्य प्रस्तुत गरे ।

“हामीले महिलाको सहभागिता र प्रतिनिधित्वको क्षेत्रमा राम्रो प्रगति गरिरहेका छौं। अब यो यात्रालाई अझ सशक्त र परिणाममुखी बनाउन निरन्तर अघि बढ्नुपर्छ,” प्रधानमन्त्रीको जोड थियो ।

सम्मेलनमा विभिन्न देशका महिला नेतृहरू, उद्यमी, नीति निर्माता तथा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। सम्मेलनले नेतृत्व विकास, लैङ्गिक समानता, र महिला उद्यमशीलताको प्रवर्द्धनमा दीर्घकालीन मार्गनिर्देशन दिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !