केही प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौँ । गएराति देशका अधिकांश स्थानमा सामान्य वर्षा मात्रै भएको छ भने, भेलबाढी आउने गरी कतै पनि अत्यधिक वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज दिउँसो र रातिको लागि भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा मुसलधारे वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने अनुमान गरिएको छ ।
महाशाखाले ती प्रदेशका बासिन्दालाई सतर्क रहन तथा जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरेको छ। वर्षाका कारण यातायात अवरुद्ध हुने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नसमेत महाशाखाले सुझाव दिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाशाखाले मौसमको निरन्तर निगरानी गरिरहेको जनाएको छ। आगामी केही दिन मौसममा उतारचढाव आउने सम्भावना रहेकाले विभागको आधिकारिक सूचना र अपडेटमा ध्यान दिन आम नागरिकलाई अनुरोध गरिएको छ।








