सुशासन र दिगो शान्तिका लागि रुवाण्डा विश्वकै उदाहरणीय राष्ट्र-सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले अफ्रिकी मुलुक रुवाण्डालाई सुशासन, द्रुत आर्थिक विकास र दिगो शान्तिको विश्वमै एक उदाहरणीय नमुना राष्ट्रको रूपमा चित्रण गरेका छन्।
रुवाण्डाको ३१औँ मुक्ति दिवसको अवसरमा आयोजित समारोहमा बोल्दै सभामुख घिमिरेले भूपरिवेष्टित र द्वन्द्वपछिको पुनर्निर्माणबाट अघि बढिरहेको मुलुक रुवाण्डासँग नेपालले पर्यटन, ऊर्जा, सूचना प्रविधि, कृषि र व्यापारलगायतका क्षेत्रमा व्यापक सहकार्य गर्दै साझा लाभ लिनसक्ने उल्लेख गरे ।
उनले दुवै मुलुकले द्वन्द्वका कारण ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको र यस्ता मुलुकहरूबीच आपसी सहयोग र सहकार्यबाट मात्र जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा राखे ।
कार्यक्रममा भारत र नेपालका लागि रुवाण्डाकी राजदूत मुकाङ्गीरा जाक्लीनले सुशासन, पारदर्शिता, समावेशी सहभागिता र लैङ्गिक समानता जस्ता आधारभूत मूल्यहरूलाई केन्द्रमा राख्दै रुवाण्डा तीव्र आर्थिक वृद्धिको बाटोमा अगाडि बढिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समेटेर समग्र आर्थिक प्रणालीलाई गतिशील बनाउन रुवाण्डाबाट नेपालले थुप्रै पाठ सिक्न सक्ने बताए । उनका अनुसार, सन् २०१५ मा प्रतिव्यक्ति आय करिब २०० अमेरिकी डलर रहेको रुवाण्डामा अहिले यो ८०० डलर पुगेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् १९९४ मा भयानक जातीय हिंसा र द्वन्द्वबाट मुक्त भएको रुवाण्डाले त्यसयता उल्लेखनीय सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरेर शिक्षा, स्वास्थ्य, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा ठूलो फड्को मारेको जानकारी दिए ।
नेपालका लागि रुवाण्डाका अवैतनिक वाणिज्यदूत प्रज्वलजङ्ग पाण्डेले दुई देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ बनाउँदै व्यापार र लगानी प्रवर्द्धनतर्फ आफू निरन्तर लागिपरेको बताउँदै सहकार्यका सम्भावित क्षेत्रमा पहिचान गरेर जनस्तरमा लाभ पुग्ने कार्यक्रमहरू विकास गर्नुपर्नेमा जोड दिए।
विश्वभर कफी उत्पादन र निर्यातमा परिचित रुवाण्डाले दिगो शान्ति, मेलमिलाप र पुनःनिर्माणको प्रक्रियामा देखाएको प्रतिबद्धता सन्देशमूलक रहेको आयोजकहरूले बताए।
रुवाण्डाको पुनर्निर्माण यात्रा र नेपालको विकास आकांक्षाबीच देखिएको समानता तथा सहयोगको सम्भावनालाई दृष्टिगत गर्दा दुई मुलुकबीचको सम्बन्ध भविष्यमा थप सशक्त र उद्देश्यपूर्ण बन्ने अपेक्षा गरिएको छ।








