१९ मंसिर २०८२, शुक्रबार

नागरिक अधिकारमाथि कुठाराघात : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्यबाट टाढिँदै

उपचार घोराहीमै हुने तर रेफरल लिएर लमही वा कोहलपुर जानुपर्ने बाध्यता-जनताको स्वास्थ्य अधिकारमाथिको प्रहार हाे
प्रकाशित मिति :  12 July, 2025 2:20 pm


दाङ । आशाको उज्यालो बनेको थियो-स्वास्थ्य बीमा कार्यक्रम । कार्ड बोकेर सरकारी अस्पतालमा पुग्दा उपचार पाइने, औषधि किन्न लाइन नबस्दा राहत मिल्ने, न धनी न गरिब भन्ने भेद रहने ।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस्ता अनुभव बोकेका थुप्रै सेवाग्राही थिए, जसले बीमा प्रणालीलाई जीवनको सहारा ठाने तर अब, त्यही सहारा धमिलो बन्दै गएको छ। विपन्नहरुकाे आशाको उज्यालो फेरि अन्योलको सुरुङमा हराउने खतरा देखिन थालेको छ।

स्वास्थ्य बीमा बोर्डले राप्ती प्रतिष्ठानलाई अबदेखि ‘प्रथम सेवा केन्द्र’ नभई ‘केवल रेफरल सेन्टर’ को रूपमा मात्र मान्यता दिएको सूचना सार्वजनिक भएपछि घोराहीमा विरोधको लहर चल्न थालेको छ । आगामी साउन १ गतेदेखि लागू हुने यो व्यवस्थाले अब सेवाग्राहीले पहिले अन्य स्वास्थ्य संस्थाबाट रेफरल स्लिप लिएर मात्र राप्तीमा बीमा सेवा लिन पाउने छन्।

यो निर्णयले सेवा उपभोक्तामाथि अनावश्यक झन्झट थोपरेको भन्दै अधिकारकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणले एक स्वरमा असन्तुष्टि जनाइरहेका छन् ।

स्वास्थ्य बीमा कार्डमा ‘सेवा केन्द्र : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भनेर लेखिएको देखाउने सेवाग्राही अब अन्यत्र गई रेफरल लिएर मात्र यही अस्पतालमा आउनुपर्ने बाध्यताको व्यङ्ग्यपूर्ण टिप्पणी गर्दै मोहनसिंह सुनार प्रश्न गर्छन्, “प्रतिष्ठानमै सेवा लिने तर रेफरल लिन भनिएको अस्पताल चाहिँ कहाँ हो ? यो निर्णय स्वास्थ्य सेवाबाट जनतालाई टाढा पार्ने षड्यन्त्रजस्तो लाग्छ ।”

उनको भनाइमा अझ कडापन छ, “यदि बीमाअन्तर्गतको सबै सेवा अब शुल्कमा सीमित गर्न लागिएको हो भने, प्रतिष्ठानलाई सिधै निजी अस्पताल घोषित गरे हुने । यसरी झुक्याउने शैलीमा सेवा काट्न पाइँदैन ।”

यिनै विषयलाई उठाउँदै अधिकारकर्मी विनोद केसी थप्छन्, “जनताको सहजताका लागि भनिएको बीमा सेवा अहिले उल्टो असहजताको प्रतीक बन्ने खतरा छ । घोराही उपमहानगरपालिकाले यस विषयमा तत्काल गम्भीर वार्ता थाल्न जरुरी छ । यो केवल स्वास्थ्य सेवा मात्र होइन, जनअधिकारको विषय हो ।”

यो निर्णयको राजनीतिक सन्दर्भ पनि उठ्न थालेको छ। नेकपा (माओवादी केन्द्र) दाङका इञ्चार्ज निर्मल आचार्य यो व्यवस्था तत्काल सच्याउन आग्रह गर्दै भन्छन्, “प्रतिष्ठान राप्ती क्षेत्रकाे मुख्य चिकित्सा केन्द्र हो । यहाँ जनताको ठूलो भरोसा र सेवा लिने परम्परा छ। यस्तो संस्था बीमा सेवाबाट हटाइनु जनताको भावना विपरीत छ ।”

साथै, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पनि स्पष्ट रूपमा निर्णय सच्याउन आग्रह गरेका छन्। “स्वास्थ्यजस्तो संवेदनशील विषयमा कुनै पनि नीति जनमैत्री हुनुपर्छ। यो निर्णय जनतामाथि भार बोकाउने खालको छ। राप्तीलाई फेरि प्रथम सेवा केन्द्रकै रूपमा कायम गरियोस्,” उनी भन्छन् ।

स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूचीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केवल रेफरल सेन्टरको रूपमा सूचीबद्ध गरिएको छ तर विश्लेषकहरूका अनुसार यो निर्णय केवल बोर्डको एकलमत प्रस्ताव होइन, प्रतिष्ठानकै मौन सहमति वा सिफारिसको परिणाम हो भन्ने संकेतहरू देखिन्छन् ।

संस्थामा विमित सेवाग्राहीको चाप, व्यवस्थापनको दबाब वा आर्थिक गणनाका कारण यो निर्णय गराइएको हुनसक्ने चर्चा व्यापक छ। यद्यपि, संस्थाले औपचारिक रूपमा यस विषयमा धारणा सार्वजनिक गरिसकेको छैन ।

अब सवाल उठेको छ-यो निर्णयको असर सर्वसाधारणमाथि कति गहिरो पर्छ ? जवाफ स्पष्ट छ-अत्यधिक । धेरैजसो ग्रामीण क्षेत्रका नागरिक, वृद्धवृद्धा, अशक्त वा साक्षरता नपुगेका व्यक्तिहरूका लागि यो नयाँ प्रक्रिया अत्यन्तै जटिल हुनेछ । उनीहरूलाई रेफरल स्लिप के हो ? कहाँ जाने ? कसरी ल्याउने ? भन्ने सामान्य जानकारी समेत छैन । बिरामी भएको बेलामा पहिले अर्को ठाउँ जानु, त्यहाँबाट कागज ल्याउनु अनि मात्र उपचार सुरु गर्नु-यो सर्वसुलभ नीतिको अवमूल्यन हो ।

एकातिर बीमा कार्ड छ तर सेवा लिन पूर्वस्वीकृति चाहिने बाध्यता छ । अर्कोतर्फ, कार्डमा नै ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान’ लेखिएको छ तर सिधै सेवा लिने छुट छैन । नागरिकहरू चिढिएका छन्-उनीहरूलाई लाग्न थालेको छ कि अब स्वास्थ्य बीमा सुविधा होइन, झन्झटको अर्को नाम बन्न थालेको छ ।

अन्ततः, मोहनसिंह सुनारको अपिल सबैका लागि एउटा साझा आवाज बनेको छ-“सम्पूर्ण आम घोराहीबासीहरू एकजुट भएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै बीमा सेवाको प्रथम सेवा लिने अस्पतालको रूपमा कायम गराउन लाग्नुपर्छ ।”

यसो नगरेसम्म स्वास्थ्य बीमा सस्तो, सुलभ र जनमैत्री भन्ने नारा केवल नारामै सीमित हुनेछ । यो निर्णय फिर्ता नभएसम्म राप्ती अस्पतालका गेटमा कार्ड बोकेर पुगेका बिरामीहरू फेरि पनि लाइनमा होइन, अन्योलमा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस !