१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  14 July, 2025 7:21 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश स्थानमा बदली हुने र केही क्षेत्रमा मेघगर्जनसहितको वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ, जसका कारण देशभर मौसम सक्रिय देखिएको हो ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ। साथै, देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ। कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन्, विशेषगरी पहाडी र हिमाली क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई सम्भावित हिमपात तथा वर्षाका कारण सडक अवरोध र प्राकृतिक प्रकोपको जोखिम हुन सक्ने भएकाले पूर्वतयारीसहित यात्रा गर्न अनुरोध गरिएको छ।

मौसम सम्बन्धी थप विवरणका लागि महाशाखाको वेबसाइट वा आधिकारिक मोबाइल एपमार्फत नियमित रूपमा जानकारी लिन समेत महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !