२० मंसिर २०८२, शनिबार

सरकारको एक वर्षको कामको मूल्याङ्कन: सुधार देखिन थालेको एमालेको दाबी

प्रकाशित मिति :  14 July, 2025 11:23 am


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा “सुधारको स्पष्ट संकेत” देखिएको बताएका छन् ।

सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै मुलुकको ओरालो यात्रा रोकिएको दाबी गरेका हुन् ।

महासचिव पोख्रेलले लेखेका छन्, “पार्टी अध्यक्षको नेतृत्वमा सरकारले एक वर्ष पूरा गरेको छ। यो एक वर्षमा ओरालो यात्रा रोकिएको छ र सुधारका सुस्पष्ट परिणाम देखिंदैछन् ।”

सरकार गठनको एक वर्ष पुगेको दिन प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जालमार्फत् सरकारको प्राथमिकता, उपलब्धि र आगामी कार्यदिशाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले आर्थिक सूचकांकहरू सकारात्मक देखिन थालेको उल्लेख गर्दै समृद्धिको दिशामा सरकार अघि बढिरहेको बताए।प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कामले गति लिएको, तोकिएको समयसीमाभित्र काम गर्ने अभ्यास शुरू भएको र नतिजामुखी प्रणालीको थालनी भएको जानकारी दिएका छन् ।

“सरकारले परिणाममुखी शासन अभ्यासलाई प्राथमिकतामा राखेको छ,” ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, “अहिले देखिएका सकारात्मक आर्थिक सूचकाङ्कहरू, पूर्वाधार निर्माणमा बढ्दो गति, र जनअपेक्षाअनुसार नीति निर्माणका पहलले सुधारको संकेत दिइरहेका छन्।”

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले २०७९ असार २९ मा गठन भएको हो । एक वर्षको अवधिमा सरकारले आन्तरिक सुधार, पूर्वाधार विकास र सुशासन प्रवर्द्धनमा ध्यान केन्द्रित गरेको दाबी गर्दै आएको छ ।

यद्यपि सरकारको आलोचना पनि भइरहेका छन्। प्रतिपक्षी दलहरूले सुधारभन्दा प्रचारलाई प्राथमिकता दिएको आरोप लगाउँदै आएका छन्। तर सत्तापक्षका नेताहरू भने देश सकारात्मक दिशामा अघि बढिरहेकोमा आशावादी देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस !