१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य बीमा पुनरावलोकनको संकेत

प्रकाशित मिति :  14 July, 2025 4:55 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा कार्यक्रमबारे पुनर्विचार गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले बीमा प्रणालीमा देखिएका केही दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई औचित्यपूर्ण बनाउन पुनरावलोकन गरिने जनाए ।

प्रधानमन्त्री ओलीले भने, “स्वास्थ्य बीमाको नाममा कतिपय ठाउँमा दुरुपयोग हुने गरेको पाइन्छ। यस विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई जनताको हितमा अझ प्रभावकारी बनाउने गरी पुनरावलोकन गरिनेछ ।”

उनले निरोगी नेपाल अभियानलाई सफल बनाउन र बिरामीलाई सही उपचार प्रदान गर्ने प्रयासमा शिक्षण अस्पतालको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । अस्पतालले दक्ष जनशक्ति उत्पादन, गुणस्तरीय स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा अझ बढी सफलता हासिल गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो मिर्गौला प्रत्यारोपण यही अस्पतालमा सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै भने, “नेपालमै उपचार सम्भव छ, आवश्यकता हो आत्मविश्वास र संस्थाको सुदृढीकरण ।”

कार्यक्रममा उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीप्रति जनताको ठूलो विश्वास रहने बताउँदै भने, “बिरामी अस्पताल पुग्दा बाँच्छु भन्ने आशा राख्छ । त्यो आशालाई पूरा गर्नु स्वास्थ्यकर्मीहरूको पवित्र जिम्मेवारी हो। नर्सहरूको हातमा जादु हुन्छ। मृदुभाषी व्यवहार र समयमै औषधि दिनु उपचारको अङ्ग हो।”

अस्पतालको वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले नयाँ सेवा भवनको उद्घाटन गरे । साथै, अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई सम्मान प्रदान गरिएको थियो ।

वार्षिकोत्सव समारोहमा चिकित्सा शिक्षामा योगदान पुर्‍याउँदै आएका पूर्व प्राध्यापक, सेवा निवृत्त स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीको सम्बोधनले स्वास्थ्य बीमाको वर्तमान कार्यान्वयनमा सुधारको संकेत गर्दै आगामी दिनमा सेवा उपयोगमा पारदर्शिता र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !