सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै, पाँच विधेयकका प्रस्ताव प्रस्तुत हुने
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ मा सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा हुने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
आजको बैठकमा लेखा समिति सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची पनि तय भएको छ ।
साथै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसैबीच राष्ट्रियसभाको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले भने प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ।
आजको बैठकमा प्रस्तुत हुने विधेयक र प्रतिवेदनहरू महत्त्वपूर्ण कानुनी प्रक्रिया र सार्वजनिक प्रशासनसँग सम्बन्धित भएकाले सांसदहरूको विशेष चासो रहेको छ।








