देशभर मनसुनको प्रभाव : वर्षा र डुबानको जोखिम, महाशाखाको सतर्कता अनुरोध
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा भारतको उत्तरप्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको असर पनि नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहेकाले देशभर मौसम बदली हुने अवस्था देखिएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने विशेष गरी वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको बताइएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको सम्भावना पनि रहेको मौसमविद्हरूको भनाइ छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानहरूमा हुरी चल्ने जोखिम पनि औंल्याइएको छ ।
महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान (debris flow) बहावको जोखिम रहेको जनाएको छ। विशेष गरी सहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना उच्च रहेको भन्दै ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, लगातारको वर्षाका कारण ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह उच्च हुन सक्ने, जसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन क्षेत्र, नदी आसपासका सडक तथा हवाई यातायातसमेत प्रभावित पार्न सक्ने देखिएको महाशाखाको चेतावनी छ।
सार्वजनिक सूचना जारी गर्दै महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ। साथै, जोखिम न्यूनीकरण र आपतकालीन व्यवस्थापनका लागि सरोकार भएका निकायहरूलाई समेत समयमै तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।
मौसमको यो अस्थिर अवस्थाले विशेष गरी पहाडी भूभागमा पहिरो र तराई क्षेत्रमा डुबानको जोखिम बढाउने भएकाले नागरिक सतर्क रहन र स्थानीय प्रशासनसँग समन्वय गर्न विज्ञहरूले सुझाएका छन् ।








