अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित भयोः सांसद नेम्वाङ
काठमाडाैँ । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सिमित हुन थालेको बताएका छन् ।
बिहीवार सिंहदरबारमा नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् । उनले अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे ।
उनले संसदबाट भइरहेका नकारात्मक र नैराश्यताका कुराहरू जनताले मूल्यांकन गरिरहेको पनि बताए । कानूनलाई जीवन्त बनाउने काम सांसदहरुको भएको र सांसदहरुले कानूनलाई जीवन्त बनाउँदै जनतामा आशा जगाउनुपर्ने बताए ।
बेलायती संसदका अभ्यास र अनुभव सिकिरहँदा नेपाली भूगोल र जनतासँग कतिपय कुराहरू मेल नखाने भएकाले आफ्नो भूगोल र जनताको अपेक्षाअनुसार कामहरू गर्दै जानुपर्ने बताए ।
सांसद नेम्वाङले जनताको करबाट विदेश भ्रमण गर्ने र त्यसको उपलब्धि नहुने आरोप सांसदहरूमाथि लाग्ने गरेको भन्दै त्यसलाई चिर्न विदेशमा सिकेका कुराहरू स्वदेशमा लागू गर्न जरुरी रहेको बताए ।








