२० मंसिर २०८२, शनिबार

मन्त्री अधिकारीकाे स्पष्टीकरण-‘आराेप पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छु’

प्रकाशित मिति :  17 July, 2025 4:16 pm


काठमाडौँ । ‘‘सुनिएको त्यो अडियो साँच्चै मेरो हो भने, जस्तोसुकै सजाय भोग्न तयार छु’‘, यो घोषणा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकाे हाे । एकवर्षे उपलब्धि सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा बाेल्दै अधिकारीले यस्ताे घाेषणा गरेका हुन् ।

पोखराको विवादास्पद जग्गा कारोबारसँग जोडिएर सार्वजनिक भएको अडियो क्लिपमा मन्त्री अधिकारीको संलग्नता भएको आरोप सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र रूपमा फैलिरहेको छ तर मन्त्री अधिकारीले ती सबै आरोपलाई एक झट्कामा पन्छाउँदै आफूलाई राजनीतिक षड्यन्त्रको शिकार बनाइएको दाबी गरे ।

‘मेरो आवाज छैन, मेरो शब्द छैन’
पत्रकार सम्मेलनमा पत्रकारहरूले अडियोबारे प्रश्न सोध्दै गर्दा मन्त्री अधिकारी केही बेर मौन भए अनि गहिरो सास फेरि भने,
‘‘तपाईंहरूले त्यो अडियो सुन्नुभएको छ। यदि त्यहाँ मेरो आवाज भेटिनुभयो भने, मैले केही मागेको फेला पार्नुभयो भने म सजायबाट भाग्दिन ।‘’

उनको स्वरमा न त राजनीतिक चातुर्यता थियो, न त कानुनी बचाउको भाषा नै । एक किसिमको जनसमक्ष प्रतिवद्धताको शैली थियाे । उनले सो अडियोमा प्रयोग गरिएका शब्द, स्वर वा तर्कहरू आफूसँग मेल नखाने दाबी गर्दै स्पष्ट भने, ‘‘अहिलेसम्म त्यो अडियोमा आउने कुनै भाषा, व्यक्तित्व, मेरो होइन ।’‘

अधिकारका अनुसार केही व्यक्तिहरू मालपोत अधिकृतको सरुवा फिर्ता गराउन दबाब दिन उनीसँग आएका थिए ।
‘‘मैले भनेँ, यो प्रक्रिया अनुचित छ, म गर्दिनँ,’‘ मन्त्रीले सुनाए, ‘‘त्यसपछि अडियो सार्वजनिक गरियो ।’‘

उनले यो सारा प्रकरणलाई आफूलाई बदनाम गर्न खोजिएको नियोजित प्रयासको संज्ञा दिँदै भने, ‘‘मालपोत अधिकृत सरुवा भएर गएपछि म फेरि उहाँलाई त्यहाँ पठाउँछु भनेर मैले भनेको छैन। उहाँ मुद्दामा जानुभयो, फैसलामा गएन।’‘

मन्त्री अधिकारीका अनुसार अडियो प्रकरण एउटा चरित्र हत्या अभियान हो, जुन न त राजनीतिक नैतिकतामा अडिएको छ, न त तथ्यमा ।

अधिकारीले पत्रकारहरूलाई चुनौतीका साथ भने, ‘‘कृपया भावनामा नबहकिऊँ । प्रमाण खोजौँ, सत्य के हो त्यो उजागर गरौँ ।’‘
उनले अझै पनि अडियोको फोरेंसिक परीक्षण गर्न सकिने र सत्य खुलाउन आग्रह गरे । ‘‘सुनिन्छ, तर देखिँदैन’‘ जस्तो अवस्थामा निर्णय गर्नु अन्याय हुनेछ भन्ने उनको भनाइ थियो ।

विवाद, राजनीति र प्रश्न
मन्त्री अधिकारीको यो अडियो प्रकरणले दुई तहमा प्रश्न उठाएको छ-पहिलो, सत्ता पक्षमा रहेका नेताहरूको नैतिक जवाफदेहितामा कति आत्मविश्वास छ भन्ने र दोस्रो, राजनीतिक पात्रहरू कसरी वैयक्तिक स्वार्थविरुद्ध उभिन सक्छन् भन्ने ।

मन्त्री अधिकारीले आफूविरुद्धको अडियो योजनाबद्ध ‘प्रवृत्ति’ भएको दाबी गरे पनि, त्यो प्रवृत्ति कसले र किन चलायो भन्ने प्रश्न अझै अनुत्तरित छ । अझै त्यो अडियोको सत्यता प्रमाणित भएको छैन, न त यो ‘फेक’ भएको प्रमाण बाहिर आएको छ ।

नेपाली राजनीतिक वृत्तमा अडियो वा भिडियो प्रकरणहरू नयाँ होइनन् तर धेरैजसो प्रकरण सार्वजनिक चर्चामा सीमित हुने, कानुनी वा संस्थागत छानबिनमा नपुग्ने नियति भोगिरहेका छन् ।

मन्त्री अधिकारीले आफूमाथिको आरोपलाई ‘सडकमै फैसला गरौँ’ भन्ने शैलीमा खारेज गरे पनि, अब प्रश्न यो उठेको छ-सरकार वा स्वतन्त्र निकायले सत्यको खोजी गर्ने नैतिक साहस देखाउने कि फेरि पनि अर्को विवाद कुर्ने ?



प्रतिक्रिया दिनुहोस !