वैदेशिक रोजगारीको नयाँ रेकर्ड : एक वर्षमै आठ लाख बढी नेपालीको श्रम स्वीकृति
काठमाडौँ । देशमा रोजगारीको अभाव, राजनीतिक अस्थिरता र आर्थिक अवसरको खडेरीले नेपाली युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहँदा आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च श्रम स्वीकृतिको रेकर्ड बनेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा कुल ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएका छन् । यो संख्या अघिल्ला पाँच वर्षको तुलनामा सबैभन्दा बढी हो ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ७ लाख ४४ हजार ८११ पुरुष र ९४ हजार ४५५ महिला ले वैदेशिक रोजगारीका लागि स्वीकृति लिएका छन् । यो आँकडाले महिलाको सहभागिता पनि उल्लेख्य रूपले बढिरहेको संकेत गर्दछ ।
श्रम स्वीकृतिको प्रवृत्ति र गन्तव्य देशहरू
श्रम स्वीकृतिको प्रवृत्तिलाई हेर्दा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या मात्र होइन, प्रवृत्तिमा पनि परिवर्तन देखिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जानेमध्ये करिब ६० प्रतिशत श्रमिक नयाँ थिए भने ४० प्रतिशतले पुनः श्रम स्वीकृति लिएका थिए । यसले पहिल्यै वैदेशिक अनुभव प्राप्त गरेका श्रमिक पुनः विदेश जान चाहने प्रवृत्ति बलियो रहेको देखाउँछ ।
श्रम स्वीकृति लिनेहरूको विवरण विश्लेषण गर्दा, तीन लाख ५९ हजार ६७५ जनाले संस्थागत माध्यम (म्यानपावर कम्पनीमार्फत) श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख ३३ हजार ३०९ रहेको छ ।
यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिनेको संख्या एक लाख ३३ हजार ६२७ रहेको छ भने सरकारी समझदारी (जिटुजी) अन्तर्गत दक्षिण कोरिया, इजरायल र बेलायतजस्ता देशमा जानका लागि १२ हजार ६५३ जनाले श्रम स्वीकृति लिएका छन् । यी तथ्याङ्कहरूले श्रमिकहरू विभिन्न माध्यमबाट विदेशिने विकल्प रोजिरहेका छन् भन्ने देखिन्छ ।
नेपाली श्रमिकका प्रमुख गन्तव्य देशहरूमा यथावत संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन, र रोमानिया परेका छन्। विभागका अनुसार हाल ६९ देशमा नेपाली श्रमिक पुगेका छन् ।
मासिक र दैनिक औसत
गत आर्थिक वर्षमा मासिक औसतमा ६९ हजार ९३९ जनाले श्रम स्वीकृति लिएका थिए भने दैनिक औसत २ हजार ३ सय जना थियो । यस्तै, गत वर्षको मङ्सिर महिनामा सबैभन्दा बढी श्रम स्वीकृति लिइएको तथ्याङ्कले देखाउँछ ।
पाँच वर्षको परिदृश्य
पछिल्ला पाँच वर्षमा ३५ लाख १६ हजार ९६५ जनाले श्रम स्वीकृति लिएकोमा ३१ लाख ८१ हजार १९१ पुरुष र ३ लाख ३५ हजार ७७४ महिला रहेका छन् । यस अवधिमा वैदेशिक रोजगारीलाई रोजगारीको प्रमुख विकल्पका रूपमा युवाहरूले लिएको स्पष्ट हुन्छ ।
वैदेशिक रोजगार विभागले सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको दाबी गरेको छ । महानिर्देशक भट्टराईले सबै कागजात पूरा भएका निवेदनलाई अब दुई मिनेटभित्रै श्रम स्वीकृति दिने प्राविधिक प्रणाली अपनाइएको जानकारी दिए । अघिसम्म एक साता लाग्ने प्रक्रियालाई अहिले विभागले व्यापक सुधारसहित छोट्याएको छ।
बिचौलियाविरुद्ध विभागको कडाइ
विभागले पछिल्ला दिनमा बिचौलियामुक्त वातावरण निर्माणमा सफलता पाएको दाबी गरेको छ । महानिर्देशक भट्टराईका अनुसार श्रम स्वीकृति लिन आउने सेवाग्राहीलाई विभागको मुख्यद्वारबाटै बिचौलियाको प्रभावबाट जोगाउन सकिएको छ । “अब कोही पनि सेवाग्राही बिचौलियाको भर पर्दैन, हामी सिधा सेवा दिन तयार छौं,” भट्टराईले भने ।
वैदेशिक रोजगारीको यो ताजा आँकडाले देशभित्र अवसरको अभाव र श्रमिकहरूको पलायन प्रवृत्तिलाई झल्काउँछ । यद्यपि विभागले सेवा प्रवाहमा गरेका सुधार र पारदर्शिता कायम गर्न लिएका कदमले श्रमिकका लागि केही सहजता ल्याएको देखिन्छ ।
यससाथै, राज्यको ध्यान वैदेशिक रोजगारीमा गएकाहरूको सुरक्षा, सीप विकास तथा रेमिट्यान्सको दीगो उपयोगतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता अझ तीव्र रूपमा देखिएको छ ।








