द्वन्द्व व्यवस्थापन र शान्ती प्रक्रिया टुंग्याउन राजनीतिक दलहरूले खेलेको भुमिका असाधारण छः प्रमुख सचेतक बर्तौला
काठमाडाैँ ।नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन् ।
आइतवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र सहमतिले महत्वपूर्ण भुमिका खेलेको उनको भनाइ छ ।
उनले टिरआसी विधेयक पास भइसकेको उल्लेख गर्दै त्यसले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्ने कुराको सुनिश्चितता गरेको पनि बताए ।
“नेपालको द्वन्द्वलाई व्यवस्थापन गर्न र शान्ती प्रक्रियालाई व्यवस्थापन गर्नको लागि राजनीतिक दलहरुले गरेको साझा पहल, प्रयत्न र भूमिका असाधारण छ । यसले हजारौं द्वन्द्वपीडितहरूलाई न्यायको सुनिश्चितता गरेको छ । पीडकहरूलाई कानूनी दायरामा ल्याउने कुराको पनि सुनिश्चितता गरेको छ,” उनले भने ।
नेपालले शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढाएको अनुभवलाई अन्तरराष्ट्रिय समुदायमा प्रश्तुत गर्नुपर्ने उनको मत छ ।








