१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनी प्रभाव कायम : केही स्थानमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  21 July, 2025 9:17 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा देशका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको अवस्थामा रहेकोले आगामी केही घण्टामा देशका विभिन्न भागमा वर्षा हुने सम्भावना छ।

विभागले दिएको पछिल्लो पूर्वानुमानअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यसैगरी, बाँकी भू–भागका थोरै स्थानमा पनि यस्तै खालको मौसम देखिनेछ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पनि हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा हिमपातसमेत हुन सक्ने सम्भावना रहेको छ।

आज रातिसमेत देशभर आंशिकदेखि साधारण बदली रहनेछ। रातको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले नागरिकहरूलाई चट्याङ, बाढी तथा पहिरो जस्ता सम्भावित प्राकृतिक जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ। मौसममा देखिएको अस्थिरता र भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !