एमाले केन्द्रीय कमिटीको बैठक आज ११ बजे च्यासलमा : केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानको मस्यौदामाथि विस्तृत छलफल हुने कार्यक्रम छ ।
पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक एवं उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्यूरोले अनुमोदन गरेको मस्यौदा विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् ।
आजको बैठकमा विधानमाथि धारणा राख्न चाहने केन्द्रीय सदस्यहरूलाई तीन मिनेटको समय दिइनेछ । सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोका सदस्यहरूले पहिल्यै आफ्ना धारणा राखिसकेकाले आजको बैठकमा केन्द्रीय सदस्यहरूलाई मात्रै बोल्ने मौका दिइने गौतमले जानकारी दिए ।
एमालेमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरोबाहेक करिब २३० जना केन्द्रीय सदस्य रहेका छन् । उनीहरू सबैले धारणा राखेमा बैठक आज र भोलि मात्रै नभई पर्सीसम्म लम्बिन सक्ने सम्भावना पार्टी स्रोतले जनाएको छ ।
यसअघि साउन १ गते बसेको सचिवालय बैठक तथा साउन २ र ३ गते बसेको पोलिटब्यूरो बैठकले ७० वर्षे उमेर हद र एउटै पदमा दुई कार्यकालको सीमा हटाउने निर्णय गरिसकेको छ । उपाध्यक्ष पौडेलले यी विषयसमेत समेटिएको विधान मस्यौदा आजको बैठकमा प्रस्तुत गर्नेछन् ।
गौतमका अनुसार केन्द्रीय कमिटीले पास गरेको मस्यौदा विधान थप सुझाव संकलनका लागि मातहतका कमिटीहरूमा पठाइनेछ ।
ती कमिटीहरूबाट आएका सुझाव समेटेर अन्तिम मस्यौदा तयार पारिने र त्यसलाई भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा पेश गरिनेछ ।
पार्टीको संगठनात्मक संरचना, नेतृत्व निरन्तरता र कार्यक्षमतासम्बन्धी गम्भीर बहसको पृष्ठभूमिमा बस्न लागेको यो बैठक एमालेको आगामी दिशा तय गर्ने दृष्टिले महत्वपूर्ण ठानिएको छ ।








