१९ मंसिर २०८२, शुक्रबार

पूर्वपश्चिम राजमार्ग विस्तार : नारायणघाट–बुटवल सडकको म्याद फेरि एक वर्ष थपिने

दाउन्ने खण्डमा तीव्र काम तर अझै सात किलोमिटर कालोपत्र गर्न बाँकी
प्रकाशित मिति :  22 July, 2025 9:05 am


बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत चार लेनमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक योजनाको पूर्वी खण्डमा काम तिव्र गतिमा अगाडि बढिरहेको छ तर समयमै काम सम्पन्न नहुँदा सडक विस्तारको म्याद फेरि एक वर्ष थप्ने तयारी गरिएको छ।

सडक विभागको आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालका अनुसार निर्माण कम्पनीसँग भएको सहमतिको आधारमा अबको एक वर्षभित्र फिनिसिङ बाहेकका काम सक्ने गरी म्याद थपिने छ।

तेस्रोपटक म्याद थपिने तयारी
यस आयोजनाको तेस्रोपटक थपिएको म्याद साउन ८ गते सकिँदैछ। निर्धारित समयभित्र काम नसकिएपछि चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड’ ले फेरि समय माग गरेपछि आयोजना र कन्सल्टेन्टबीच समन्वय गरी थप एक वर्षको समय दिने निष्कर्षमा सडक विभाग पुगेको हो ।

निर्देशक ढकालका अनुसार, “निर्माण कम्पनीले ९० प्रतिशत काम सक्ने सहमति जनाएपछि एक वर्षको म्याद थप गर्न लागिएको हो। हालसम्म योजनाको भौतिक प्रगति ६९.३ प्रतिशत पुगेको छ ।”

दाउन्ने खण्डमा जनशक्ति केन्द्रित
सडकको पूर्वी खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर दूरी पर्छ। यस क्षेत्रको काममा तीव्रता दिन हाल निर्माण कम्पनीले २७२ जना श्रमिक परिचालन गरेको छ ।

अहिले विशेष गरेर दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ। यस क्षेत्रमा यात्रा कठिन बनेपछि ढलानका कामहरूलाई प्राथमिकता दिइएको सूचना अधिकारी इञ्जिनियर शिव खनाल बताउँछन् ।

चोरमारा क्षेत्रमा कालोपत्र, पुल निर्माण, डिभाइडर निर्माण तथा दुई लेन सडकलाई चार लेनमा विस्तार गर्ने काम भइरहेको छ। डण्डाको सुक्खा खोलामा बनाइएको ठूलो पुल तयार भए पनि एप्रोच रोड नबनेका कारण सञ्चालनमा आउन सकेको छैन ।

यस्तै चोरमाराको पुलमा हाल काम भइरहेको छ भने बेल्डिहा खोलाको पुल छिट्टै सञ्चालनमा आउने तयारी छ। जयश्री खोलामा भने ढलानको काम चाँडै सुरु गरिनेछ ।

पुल र कालोपत्रको प्रगति
पूर्वी खण्डमा पर्ने साना पुलहरू निर्माण भएर सवारीसाधन सञ्चालनमा आएका छन् तर ठूला पुलहरू अझै निर्माणाधीन अवस्थामा छन् । गैँडाकोटको पुलचोकमा एक सय मिटर सडक कालोपत्र गर्न बाँकी रहे पनि आगामी एक महिनाभित्र सम्पन्न गरिने तयारी छ ।

खासगरी चोरमारा, दुम्कीबासदेखि दाउन्नेसम्मको करिब सात किलोमिटर सडक अझै कालोपत्र गर्न बाँकी छ । ६५ किलोमिटरको सडक खण्डमा करिब डेढ किलोमिटर पुलले ओगटेको क्षेत्र बाहेक बाँकी सडकको अधिकांश भाग कालोपत्र भइसकेको छ ।

प्रगतिको गति र म्यादको चुनौती
पूर्वी खण्डमा पछिल्लो एक वर्षमा मात्र भौतिक प्रगति करिब २० किलोमिटर थपिएको छ । निर्देशक ढकालका अनुसार, “पछिल्लो म्याद सकिँदा २९ किलोमिटर मात्रै कालोपत्र भएको थियो तर हाल ५६ किलोमिटर सडक कालोपत्र भइसकेको छ। सडक विस्तारको काम २०७५ साल माघ २४ गते ठेक्का सम्झौताका आधारमा सुरु गरिएको थियो । सम्झौताअनुसार ४२ महिनाभित्र काम सम्पन्न हुने लक्ष्य लिइए पनि विभिन्न कारण देखाउँदै म्याद पटकपटक थपिंदै आएको छ । यो पटक भने अन्तिम म्याद थप गरिएको बताउँदै ढकाल भन्छन्, “अबको म्याद अन्तिम हो भन्ने मान्यतामा काम अगाडि बढाएका छौं।”

नारायणघाट–बुटवल सडक विस्तार योजनाको कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ रहेको छ। यसमध्ये पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को लागत ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ र पश्चिम खण्ड (दाउन्ने–बुटवल) को लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ। परियोजना एसियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा सञ्चालित छ भने बाँकी रकम नेपाल सरकारले व्यहोरेको हो।

यात्रुका लागि राहत र प्रतीक्षा
हाल दाउन्ने क्षेत्र बाहेक अन्य खण्डमा यात्रा सहज भएको बताइए पनि यात्रुहरू अझै पनि पूर्ण सुविधा र सहजताको प्रतीक्षामा छन्। दैनिक सयौं यात्रु आवागमन गर्ने यस सडकमा ढिलो निर्माणले जनजीवन प्रभावित भएको छ।

सडक निर्माणमा आएको ढिलाइ, म्याद थप र लागत वृद्धि जस्ता समस्याहरूले राष्ट्रिय गौरवका आयोजना भनिएका परियोजनाहरूको प्रभावकारिता माथि प्रश्न उठाउँदै आएका छन्। तथापि, पछिल्लो प्रगतिको गति हेर्दा निर्माण कम्पनी र सरकार दुवै थप प्रतिबद्ध देखिन्छन्।

पूर्वपश्चिम राजमार्गको चार लेनमा विस्तार महत्वपूर्ण राष्ट्रिय पूर्वाधार हो, जसको समयमै सम्पन्नता राष्ट्रिय अर्थतन्त्र, यातायात र जनजीवनका लागि निर्णायक छ ।

अब थपिएको एक वर्षभित्र पूर्वी खण्डको काम अन्तिम चरणमा पुर्‍याएर सडक सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ। यो योजना सम्पन्न भएपछि मध्य तराईको यो खण्डमा सुरक्षित, द्रुत र सहज यात्रा सुनिश्चित हुनेछ भन्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस !