एमालेको भविष्य ओलीकै नेतृत्वमा सुनिश्चित गर्न ढकालको जोड
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भूमिश्वर ढकालले पार्टीको भविष्य अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वसँग जोडिएको बताएका छन् । उनले आउँदो २०८४ सालको निर्वाचनमा एमालेले अध्यक्ष ओलीकै नेतृत्वमा चुनावी प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका हुन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी नवौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिन मङ्गलबार धारणा राख्दै ढकालले वर्तमान राजनीतिक परिप्रेक्ष्य र एमालेको संगठनात्मक अवस्थालाई मूल्याङ्कन गर्दा ओलीकै नेतृत्व अपरिहार्य रहेको बताएका हुन् ।
“अध्यक्ष ओलीको नेतृत्वमा पार्टीले विगतमा ठूला राजनीतिक उपलब्धिहरू हासिल गरेको छ,” ढकालले भने, “पार्टीको राजनीतिक दिशा, चुनावी सफलता र जनतासँगको सम्बन्धलाई मजबुत बनाउँदै लैजान उहाँकै नेतृत्व आवश्यक देखिन्छ ।”
पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा प्रवेशबारे चर्चा भइरहेका बेला ढकालले त्यसबारे पनि स्पष्ट धारणा राखेका छन् । उनले पूर्वराष्ट्रपतिका रूपमा भण्डारीले आफूलाई संवैधानिक मर्यादाभित्र सीमित राख्नुपर्ने बताए । “उहाँले राष्ट्रको प्रमुख बनेर गरिमा बढाउनुभएको हो, अब त्यही गरिमा कायम राख्दै बस्नुपर्छ, सक्रिय राजनीतिमा आउनु उपयुक्त हुँदैन,” उनले तर्क गरे ।
बैठकमा भूगोलको प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्य ढकालसहित १३१ जनाले पार्टी विधान संशोधन, नेतृत्वको कार्यशैली, संगठन विस्तार, आगामी निर्वाचन रणनीति, युवा सहभागितालगायतका विषयमा धारणा राखेका छन् ।
एमालेको नवौँ केन्द्रीय कमिटी बैठक साउन ५ गतेदेखि सुरु भएको हो । बैठकमा पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयहरूमा गहिरो छलफल भइरहेको जनाइएको छ । अध्यक्ष ओलीसहित शीर्ष नेताहरूको निर्देशनपछि विधान महाधिवेशनतर्फको तयारीलाई अन्तिम रुप दिइने बताइएको छ ।








