पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ ।
मंगलवार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रूपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष रहेको सुनाए ।
पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै उनले त्यो सम्मान कायम राख्न आग्रह पनि गरे । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ ।
प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रूपमा सम्मान गरेको कुरा पनि स्मरण गराए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईले पनि उनलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुनेकुरा अमान्य रहेको गौतमको भनाई थियो ।
प्रचार विभाग प्रमुख गौतमले यो निष्कर्षमा तीनजना नेताहरू उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति व्यक्त गर्नुभएको जानकारी पनि दिए । केन्द्रिय कमिटीले ‘सर्वसम्मत’ निर्णय गरिसकेपछि उहाँहरूले उठेर यसमा ‘नोट अफ डिसेन्ट’ राखेको प्रचार विभाग प्रमुख गौतमले बताए ।








