राष्ट्रपति र सभामुखबिचको अन्तर फरक छ, राष्ट्रको गौरवका रूपमा रहेको व्यक्ति कुनै दलमा आवद्ध हुन मिल्दैनः पोखरेल
काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति र सभामुखबीचको अन्तरलाई बुझ्न सक्नुपर्ने बताएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नका लागि केन्द्रिय कमिटीको बैठकले रोकेसँगै सञ्चारकर्मीहरुसँग बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आययोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
सभामुख सक्रिय राजनीतिमा फर्किन मिल्ने तर राष्ट्रपति किन नमिल्ने भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले संविधानले सभामुख संसदको सदस्य नै रहनुपर्ने व्यवस्था गरेको तर राष्ट्रपतिले सबै आवद्धता त्याग गर्नुपर्ने प्रावधान रहेको बताए ।
सभामुख आफैँमा राजनीतिक जिम्मेवारी भएको बताए । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको राजनीतिमा सक्रिय हुन नमिल्न निर्णय गरेको थियो । राष्ट्रको गौरव भइसकेको साझा व्यक्तित्व कुनै राजनीतिक दलसँग आवद्ध हुन नमिल्ने एमालेको निष्कर्ष छ । महासचिव पोखरेलले राष्ट्रपति सबै अंगहरूको साझा अभिभावक भएको बताए ।








