१९ मंसिर २०८२, शुक्रबार

गेट कलेज र जापानको टोनो सिटीबिच सहकार्य, नेपाली विद्यार्थीलाई जापानमा इन्टर्नसिपको अवसर दिने

प्रकाशित मिति :  24 July, 2025 6:37 pm


काठमाडौँ । काठमाडौँस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट) र जापानको टोनो सिटीबिच पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रमा त्रिपक्षीय सहकार्य सम्झौता सम्पन्न भएको छ। टोनो कं., लिमिटेडको सहभागिता सहितको यस ऐतिहासिक सम्झौतापछि नेपाली विद्यार्थीलाई जापानमा इन्टर्नशिपको अवसर प्राप्त हुने भएको छ।

सम्झौताअनुसार गेट कलेजका विद्यार्थीहरूले जापानको टोनो शहरमा पर्यटन, आवास र आतिथ्य सत्कार क्षेत्रमा व्यावसायिक अनुभव लिने मौका पाउनेछन्। यसै माध्यमबाट नेपाल र जापानबीच सांस्कृतिक आदानप्रदान र मानव संसाधन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरिएको छ।

विशेष समारोहमार्फत सम्पन्न सम्झौता कार्यक्रममा गेट कलेज, टोनो सिटी र टोनो कं., लिमिटेडका प्रतिनिधिहरूको अनलाइन सहभागीता थियो।

कार्यक्रममा टोनो सिटीका मेयर काजुहिको टाडाले सहकार्यलाई ‘अत्यन्त अर्थपूर्ण’ भन्दै यसले जापानको अन्तर्राष्ट्रियकरणमा टोनो सिटीलाई अगाडि बढाउने बताएका थिए। उनले घट्दो जन्मदर, वृद्ध जनसंख्या र श्रम अभावजस्ता चुनौतीबिच विदेशी मानव संसाधनलाई स्वागत गर्न टोनो तयार रहेको पनि उल्लेख गरे ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाइँले १९ वर्षदेखि गेटले अन्तर्राष्ट्रिय साझेदारीका माध्यमबाट नेपाली विद्यार्थीका सपना साकार गर्दै आएको स्मरण गर्दै टोनोसँगको यो सम्झौताले नेपाल र जापानबिचको साझा सपनाको सुरुआत गरेको बताए। उनले यस सम्झौतालाई ‘परिवार निर्माणको अवसर’का रूपमा व्याख्या गरे।

त्यस्तै, टोनो कं., लिमिटेडका सीईओ सुकी सुजुकीले गेट र टोनोसँगको सहकार्यलाई ग्रामीण पर्यटनको पुनरुत्थानमा टेवा पुग्ने अवसरका रूपमा लिएका छन् । उनले बहुसांस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय दृष्टिकोण भएका इन्टर्नहरूको भूमिकाले सेवा गुणस्तरमा सुधार ल्याउनुका साथै विदेशी पर्यटकका लागि आकर्षक वातावरण बनाउने बताए।



प्रतिक्रिया दिनुहोस !