१९ मंसिर २०८२, शुक्रबार

मनसुनी प्रभाव विस्तार : पहाडी भूभागमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  25 July, 2025 6:29 am


काठमाडौँ । देशभर अहिले कमजोर तर सक्रिय मनसुनी प्रणालीको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास सक्रिय रहँदा विशेषगरी पहाडी भूभागमा बदली र वर्षाको सम्भावना बढेको हो ।

आज देशका अधिकांश भागहरूमा मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यससँगै बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेकोले सतर्क रहन अनुरोध गरिएको छ ।

आज राति पनि कोशी प्रदेशसहित पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने देखिएको छ ।

त्यसैगरी, कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही भू–भागमा हावाहुरी चल्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

पानी पर्ने सम्भावना रहेका क्षेत्रहरूमा बसोबास गरिरहेकालाई महाशाखाले आवश्यक सतर्कता अपनाउन, जोखिमयुक्त स्थानमा यात्रा नगर्न र मौसमअनुसार सावधानी अपनाउन सुझाव दिएको छ ।

जलवायुजन्य सम्भावित जोखिमलाई ध्यानमा राख्दै अत्यावश्यक पूर्वतयारी र सतर्कतासहित सुरक्षित रहन मौसमविद्हरूले देशवासीलाई आह्वान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !