लुम्बिनीको संरक्षणमा सबै लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्द्धनमा सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक धार्मिक सम्मान कार्यक्रममा बोल्दै उनले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रूपमा विकास गर्न सबैको सहयोग आवश्यक भएको बताए।
सिंहले सुपोत महास्थथवीरलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै लुम्बिनीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई अझ प्रस्ट्याउँदै बुद्ध धर्म र लुम्बिनी एक अर्काका पर्यायवाची भएको बताए।
“बुद्ध धर्मलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न आवश्यक छ,” उनले भने, “आजको यो सम्मान कार्यक्रम उहाँले लुम्बिनीमा दिएको निरन्तर धार्मिक र सामाजिक योगदानको कदरस्वरूप हो।”
थाइल्याण्डका सुपोत महास्थथवीरलाई हालै थाइ सरकारले लुम्बिनीमा रहँदै गरेका बेला दिएको धार्मिक र सामाजिक योगदानका लागि विशेष सम्मान गरेको छ। सोही सम्मानको कदर गर्दै नेपाली बौद्ध समुदाय र विश्व शान्ति विहारले पनि उनलाई अभिनन्दन गरेका हुन्।
कार्यक्रममा बोल्दै महास्थथवीरले लुम्बिनीमा रहँदा आफूले गर्न पाएको योगदानप्रति सन्तोष व्यक्त गर्दै लुम्बिनी शान्तिको स्रोत भएको र यसको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायले पनि चासो दिनुपर्ने बताए।
कार्यक्रममा विभिन्न बौद्ध भिक्षु, बौद्ध धर्मावलम्बी, तथा बुद्ध धर्मसँग आवद्ध संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। उपस्थित वक्ताहरूले लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काममा सुपोत महास्थथवीरको योगदान उल्लेखनीय रहेको धारणा राखे।








