देशको लागि जीवन आहूति दिने नेताहरूमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताएका छन् ।
आइतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले देशका लागि योगदान गर्ने नेताहरूमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताएका हुन्। जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरूमाथि कुनै आरोप लगाउन नहुने बताए । विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभइ देशको नेता भएको बताए ।
“योगदानलाई कदर गर्ने सम्बन्धमा यो पार्टी र त्यो पार्टी गर्नु हुँदैन भन्ने मेरो विश्वास छ । त्यसैकारण मैले शहीदहरुको सन्दर्भमा २०२० सालमा मारिनुभएका शहीद दुर्गानन्द झालाई शहीद मानिएको थिएन । शहीद भनेको मेरो र तेरो हुँदैन । नेता नमरुन्जेल मेरो र तेरो हुनसक्छ । तर मरेपछि नेता सबैको हो । विपी कोईराला बाँचुन्जेल नेपाली काँग्रेसको हुनुहुन्थ्यो अब नेपालको नेता हो । पुष्पलाल अब नेकपाको नेता होइन, बाँचुन्जेल नेकपाको नेता हुनुहुन्थ्यो । अब उहाँ देशको नेता हो,” उनले भने ।
प्रधानमन्त्री ओलीले देशका लागि बलिदान गर्नेहरूलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न नहुने बताए ।








