१९ मंसिर २०८२, शुक्रबार

बागमती कांग्रेस संसदीय दलमा किचलो,मुख्यमन्त्री लामाविरुद्ध गएका दुई सांसदले नाम फिर्ता लिए

प्रकाशित मिति :  29 July, 2025 10:20 am


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध नेपाली कांग्रेसकै सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दुई सांसदले नाम फिर्ता लिएका छन् ।

आफूलाई जानकारी नै नदिई हस्ताक्षर गराइएको दाबी गर्दै सांसद माया श्रेष्ठ र मीना पराजुलीले नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

दुबै सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूले अविश्वास प्रस्तावको विषयमा पूर्वजानकारी नपाएको र प्रस्ताव दर्ता गरिँदा छलफल समेत नगरिएको दाबी गरेका छन् ।

“बागमती प्रदेश संसदीय दलका नेता माननीय बहादुरसिंह लामा तामाङको विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो प्रस्तावको विषयमा जानकारी नगराई हस्ताक्षर गराइएको पाइएकोले त्यसप्रति असहमति जनाउँदै प्रस्तावबाट नाम फिर्ता लिएका छौँ,” विज्ञप्तिमा भनिएको छ, “हामी मुख्यमन्त्री लामालाई समर्थन गर्दैछौँ भन्ने जानकारीसमेत गराउँदछौँ।”

गत शुक्रबार प्रदेशसभामा नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री लामाविरुद्ध पार्टी संसदीय दलभित्रै अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।

श्रेष्ठ र पराजुलीले समर्थन फिर्ता लिएपछि लामाको पक्षमा सांसद सङ्ख्या १८ पुगेको छ ।

बानियाँको पक्षमा १९ सांसद देखिएका छन् । यदि थप सांसदले पनि समर्थन फिर्ता गरे भने लामालाई हटाउने बानियाँ समूहको प्रयास असफल हुने छ ।

बानियाँले २१ सांसदको सङ्ख्या पु¥याए प्रदेश संसदीय दलको नेता बन्ने छन् र मुख्यमन्त्री बन्न बलियो आधार तयार हुने छ ।



प्रतिक्रिया दिनुहोस !