देशभर मनसुनी प्रभाव, वर्षाको जोखिमकाे चेतावनी
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहने र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थानमा तथा अन्य प्रदेशका साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशका पहाडी भूभागमा सामान्य बदली रहने र तराई भेगमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ । पहाडी भूभागका केही स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
संभावित वर्षाका कारण भूक्षय, बाढी र गेग्रान बहाबको जोखिम रहेको चेतावनी महाशाखाले दिएको छ । सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहन सक्ने, साना तथा ठूला नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण र सरोकार भएका निकायलाई महाशाखाले आग्रह गरेको छ ।








