कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकतामा छः प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवद्र्धन र पूर्वाधार विकास सरकारको प्राथमिकता रहेको बताएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास गरेका हुन् । उनले प्रभावकारी कुटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको भन्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको बताए ।
उनले खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको पुनरावलोकन गरी संशोधनको प्रक्रिया थालिएको पनि बताए । उनले व्यक्तिगत तथा संस्थागत क्षमता विकासमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै नेपाललाई ‘ल्याण्ड लक्ड’ बाट ‘ल्याण्ड लिंक्ड’ देश बनाउने प्रयास भइरहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले नेपाल सरकार सबै पक्षसँग सहकार्य गर्दै देशको रुपान्तरणलाई दिगो बनाउने लक्ष्यमा दृढ रहेको स्पष्ट पारे ।








