१९ मंसिर २०८२, शुक्रबार

सात बुँदे सहमतिलाई कम नआँक्न उपप्रधानमन्त्री सिंहको चेतावनी

प्रकाशित मिति :  31 July, 2025 1:20 pm


काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिको महत्वलाई कम आँक्न नहुने चेतावनी दिएका छन्।

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले वर्तमान राजनीतिक गठबन्धन स्थायित्व, सुशासन र जनअपेक्षा पूरा गर्न बनेको स्पष्ट पारे।

उनले राजनीतिक अस्थिरता, सरकार परिवर्तनको चक्र, र सुशासनको अभावबारे जनगुनासो बढिरहेका बेला दुई ठूला दलहरू नेपाली काँग्रेस र एमाले मिलेर देशमा स्थिर सरकार निर्माण गर्नु समयको आवश्यकता भएको उल्लेख गरे। “पछिल्ला सरकारहरू छ महिनामै बदलिने स्थिति थियो। अहिलेको गठबन्धनले त्यो अस्थिरता रोक्दै अगाडि बढेको छ,” उनले भने।

सिंहले विगतमा आफूहरू केवल पदका लागि राजनीतिमा नआएको स्मरण गराउँदै जनताको अधिकार पुनःस्थापनाका लागि आन्दोलनमा होमिएको बताएका छन्।

“हामी जनताको अधिकारको पुनःवहालीका लागि जेल गएका थियौँ, निर्वासन सह्य गरेका थियौँ, परिवारसँग अलग बस्नुपरेको थियो,” उनले भने, “हाम्रो लक्ष्य अधिकार सुरक्षित गर्ने हो, पद र सत्ताका लागि होइन।”

उनले भने, “नेपाली काँग्रेस सरकारमा निर्वाचन सकिनासाथ जान नपाउँदा कस्तो अवस्था आयो भन्ने सम्झनु जरूरी छ। हामीले सरकारमा सत्ताका लागि मात्र होइन, स्थिरता र जनताका पक्षमा नीति कार्यान्वयन गर्नका लागि प्रवेश गरेका हौँ।”

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई अझ व्यवस्थित र संस्थागत बनाउनुपर्नेमा जोड दिए। विधि र नियमको पालना गर्दै पार्टीलाई चुनौतिसँग जुध्न सक्ने बनाउनु आफूहरूको उद्देश्य भएको उल्लेख गर्दै काँग्रेसको नेतृत्वमा जनताले आशा राखेको बताए।

उनले थपे, “सात बुँदे सहमति देशमा स्थिरता ल्याउनका लागि गरिएको हो। नेपाली काँग्रेस र एमालेजस्तो ठूला दलहरूबिचको सहकार्यले अब देशले नयाँ मोड लिनेछ। त्यसलाई हल्का रूपमा लिनु गम्भीर भूल हुनेछ।”



प्रतिक्रिया दिनुहोस !