१९ मंसिर २०८२, शुक्रबार

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल

प्रकाशित मिति :  31 July, 2025 1:32 pm


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताएका हुन् ।

उनले पहाडमा जमिनहरू खाली हुने, खेती नगर्ने तर युवाहरु काम भएन भनेर विदेश जाने क्रम बढेको बताए ।उनीहरूलाई कृषि कर्ममा लगाउनसके धेरैले स्वदेशमै रोजगारी पाउने बताए ।

नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्नसक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्नसक्ने बताए । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको बताए ।

नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्नेकुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने बताए । कुनैपनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्वपूर्ण माध्यम रहेको उल्लेख गरे। कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्ने जिकिर गरे । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्रको लगायका सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक रहेको बताए ।

महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए ।



प्रतिक्रिया दिनुहोस !