२० मंसिर २०८२, शनिबार

चार संसदीय समितिको बैठक आज बस्दै

प्रकाशित मिति :  1 August, 2025 8:01 am


काठमाडौँ । सङ्घीय संसद्मातहतका चारवटा स्थायी समितिहरूको बैठक आज बस्दै छन् । निर्धारित समयअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकहरू बस्ने तय भएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ बारे छलफल हुने कार्यसूची छ ।

यसमा सङ्घ तथा प्रदेशस्थित सरोकारवाला मन्त्रालयका प्रतिनिधि, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तथा भूमि, वन र कानुन क्षेत्रका विज्ञ व्यक्तित्वहरू सहभागी हुनेछन् । बैठक दिउँसो १२ः३० बजे समितिको आफ्नै कार्यकक्षमा बस्नेछ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः३० बजे बस्नेछ । बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८०’ माथि दफावार छलफल हुने समितिले जनाएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १ः०० बजे बस्नेछ । यस बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति, समस्या समाधानका प्रयास र समितिसँगका अपेक्षाबारे विस्तृत छलफल हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !