२० मंसिर २०८२, शनिबार

थारु समुदायको उत्थान र समावेशी लोकतन्त्रमा कांग्रेस सधैं प्रतिबद्ध-सभापति देउवा

प्रकाशित मिति :  1 August, 2025 8:24 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेको र समावेशी लोकतान्त्रिक मूल्यमा आधारित शासन प्रणालीलाई कांग्रेसले निरन्तर मजबुत बनाउँदै आएको बताएका छन् ।

नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले थारु समुदायको उत्थान र विकासका लागि कांग्रेस सधैं इमान्दार रहेको स्पष्ट पारे ।

“नेपालमा कुनै एकल जातिको बहुमत छैन, संविधानले आदिवासी, जनजाति सबैलाई समेटेको छ,” देउवाले भने, “थारु समुदाय लोकतान्त्रिक मूल्य र आचरणमा टेकेर अघि बढिरहेको छ, जसले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ।”

देउवाले थारु समुदायको सामाजिक संरचना, परम्परा र सामूहिक निर्णय प्रक्रियामा पारदर्शिता, उत्तरदायित्व र सहभागिताको अभ्यास लोकतान्त्रिक संस्कृतिको नमूनाका रूपमा रहेको उल्लेख गरे । उनले माघ महिनामा नेतृत्व लोकतान्त्रिक प्रक्रियाबाट चयन गर्ने थारु समुदायको परम्परा अनुकरणीय भएको धारणा राखे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले थारु समुदायलाई श्रम र सीप प्रयोग गरेर उद्यमशीलतामा अघि बढ्न अवसर दिनुपर्नेमा जोड दिए ।

त्यस्तै, थारु विभागका अध्यक्ष योगेन्द्र चौधरीले कमैया प्रथा अन्त्य गर्ने ऐतिहासिक कार्यका लागि सभापति देउवालाई धन्यवाद दिँदै कांग्रेसले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा थारु समुदायलाई मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य नमिता चौधरीले देशभर करिब पाँच हजार ५०० थारु नेपाली कांग्रेसमा क्रियाशील रहेको जनाउँदै २०६२/६३ को आन्दोलनमा थारु समुदायका योगदानको स्मरण गरे । उनले थारु समुदायलाई राज्यको नेतृत्व तहमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए ।

सभापति देउवाले संघीय व्यवस्थासँगै कांग्रेसले पार्टी विधानमै समावेशी सिद्धान्तलाई संस्थागत गरेको उल्लेख गर्दै थारु, महिला, मुस्लिम र आदिवासी–जनजाति समुदायबाट सहमहामन्त्री अनिवार्य हुने प्रावधान लागू गरिएको जानकारी दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, थारु समुदायका अगुवा तथा विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !