देशभर मनसुनको प्रभाव, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित छ, जसका कारण देशका विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको हो ।
आज दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ । विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ ।
आज राति पनि देशभर साधारणतया बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, कोशी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई सतर्क रहन र पछिल्ला मौसमी सूचना पालना गर्न आग्रह गरेको छ ।








