२० मंसिर २०८२, शनिबार
गण्डकी प्रदेश कमिटीको बैठक प्रारम्भ

आगामी निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गर्ने एमालेको लक्ष्य

प्रकाशित मिति :  2 August, 2025 5:28 pm


पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक आज पोखरामा सुरु भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले २०८४ सालमा पार्टीलाई एकल बहुमतसहितको सरकार बनाउने लक्ष रहेको बताएका छन् ।

महासचिव पोखरेलका अनुसार समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल बनाउन मिशन र भिजनसहित सबल नेतृत्व आवश्यक छ । यसैका लागि पार्टीको विधान संशोधन प्रस्ताव ल्याइएको उनको भनाइ थियो। “जनताले विश्वास गरिसकेको पार्टीलाई अब अत्यधिक बहुमतले स्वीकार्ने वातावरण बनाउन विशेष ध्यान दिन जरुरी छ,” पोखरेलले भने।

विधान संशोधन आवश्यकताः उपमहासचिव गुरुङ
पार्टीका उपमहासचिव तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो कार्यकालमा ल्याइएको दुई कार्यकाल सीमालाई परिमार्जन आवश्यक भएको कारण विधान संशोधन प्रस्ताव आएको बताए ।

उनले मुलुकको समृद्धि र विकास एमालेकै प्रभावशाली नेतृत्वमा मात्र सम्भव हुने दाबी गर्दै नेतृत्व चयन क्षमता र निरन्तर मिहिनेतको आधारमा हुने प्रावधान आवश्यक रहेको स्पष्ट पारे ।

प्रभावशाली नेतृत्व र संगठनात्मक एकता
बैठकमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज किरण गुरुङले प्रभावशाली पार्टी निर्माणका लागि सबै नेता तथा कार्यकर्ताले एकता कायम गर्दै जनतामाझ जानुपर्नेमा जोड दिए ।

त्यस्तै, स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टीमा दक्षिणपन्थी अवसरवाद र अनुशासनहीनता हाबी हुन नदिन आग्रह गर्दै सबै कमिटी र सदस्यहरूलाई नीति र निर्णयअनुसार दृढताका साथ लाग्न निर्देशन दिए ।

गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले बैठकमा प्रदेशस्तरका संगठनात्मक कार्य, आगामी रणनीति र अभियानबारे छलफल हुने बताए ।

बैठकको अवसरमा गण्डकी प्रदेशबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी राष्ट्रियसभा सदस्य तथा केन्द्रीय सदस्य भगवती न्यौपानेलाई बधाईसहित सम्मान गरिएको थियो ।

बैठक अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको हो । बैठकमा स्थायी कमिटी सदस्य खगराज अधिकारी, पोलिटब्युरो सदस्यहरू जगत बहादुर विश्वकर्मा, टुकराज सिग्देल, मन कुमारी जि.सी., लिलाबहादुर थापा तथा केन्द्रीय सदस्यहरू भगवती न्यौपाने, भीम कार्की, इन्द्रलाल सापकोटा, कृष्ण थापा, चुडामणि जंगली, बालसिंह काउछा मगर, सिता सुन्दास, प्रभा कोइराला लगायतका नेताहरू सहभागी थिए ।

त्यस्तै, प्रदेश उपाध्यक्ष मिनप्रसाद गुरुङ, सचिव धनञ्जय दवाडी, उपसचिव तथा प्रचार विभाग प्रमुख मन्जु अधिकारी, उपसचिव दामबहादुर बिकलगायतका सदस्यहरूले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए ।

दुई दिनसम्म चल्ने बैठकले पार्टीका हालका गतिविधिको समीक्षा गर्दै समसामयिक विषयमा व्यापक छलफल गर्ने र आगामी कार्यक्रमको योजना तय गर्ने प्रचार विभाग सचिव रामजी प्रसाद लम्सालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !