देशभर मनसुनी वायुको प्रभाव : धेरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै वर्षाको सम्भावनाबारे सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार अहिले देशभर सामान्यतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने र सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । साथै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत तराईका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । यस क्रममा, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
साथै, आगामी केही दिन मधेस प्रदेशसहित देशभर मनसुन थप सक्रिय हुने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई पछिल्ला मौसमी सूचनामा ध्यान दिन र सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।








