१९ मंसिर २०८२, शुक्रबार

देशभर वर्षा : अर्घाखाँचीमा सबैभन्दा बढी ११४ मिलिमिटर

प्रकाशित मिति :  4 August, 2025 7:29 am


दाङ । पछिल्लो २४ घण्टामा देशभर मध्यमदेखि धेरै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ, जुन यस अवधिको सबैभन्दा उच्च मापन हो ।

यसैगरी, दाङमा १०२.४ मिलिमिटर, रुपन्देहीमा १०१.८ मिलिमिटर र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । मौसम विज्ञानको परिभाषाअनुसार २४ घण्टामा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा मानिन्छ ।

लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको विभागले जनाएको छ । यी जिल्लाहरूमा ९० मिलिमिटर हाराहारी वर्षा मापन भएको छ। ५० देखि १०० मिलिमिटर वर्षालाई भारी वर्षा मानिन्छ ।

आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको विभागले जनाएको छ। यी क्षेत्रमा वर्षा अझै जारी छ । विभागका अनुसार आज पनि मौसम बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। लगातारको वर्षाका कारण नदीहरूको जलस्तर बढेको छ। विभागले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्क रहन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !