१९ मंसिर २०८२, शुक्रबार

ज्ञानज्योतिका कृष्ण गिरी विज्ञान सङ्कायतर्फ नेपाल प्रथम

प्रकाशित मिति :  5 August, 2025 9:57 am


दाङ । ज्ञानज्योति फाउण्डेशनद्वारा सञ्चालित ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरले यस वर्षको कक्षा १२ को नतिजामा ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरेको छ । विद्यालयका कृष्ण गिरीले विज्ञान संकायतर्फ ३.९६ जीपीए ल्याउँदै नेपालमै प्रथम भएको फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले जानकारी दिए ।

विद्यालयका लागि मात्र होइन, सम्पूर्ण तुलसीपुरका लागि गर्वको विषय बनेका कृष्ण गिरीका साथसाथै व्यवस्थापन संकायतर्फ सन्दिप ओलीले पनि ३.९० जीपीए ल्याएर विद्यालयको शैक्षिक गौरवलाई थप उज्यालो बनाएका छन् । यसले ज्ञानज्योतिलाई गुणस्तरीय शिक्षाको पर्यायका रूपमा पुनः स्थापित गरिदिएको छ ।

कृष्ण गिरीले आफ्नो सफलता मिहिनेत, लगन र विद्यालयको सघन मार्गदर्शनकै परिणाम भएको बताए । उनी भन्छन्, “हामीलाई केवल किताबको ज्ञान मात्र दिइएन, जीवनका सीप र अनुशासन सिकाइयो । यही कारण म आज यो स्थानमा पुगेको हुँ।”

सन्दिप ओली पनि विद्यालयको शिक्षण पद्धतिले आफूलाई लक्ष्यप्रति केन्द्रित हुन मद्दत गरेको अनुभव सुनाउँछन् । “शिक्षकहरूले कहिल्यै हामीलाई निराश हुन दिएनन्,” उनले भने, “यो नतिजा हाम्रो मात्र होइन, सम्पूर्ण विद्यालय परिवारको हो।”

विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार यो उपलब्धि संयोग होइन, निरन्तरकाे मिहिनेतकाे फल हाे । “हामीले हरेक वर्ष विद्यार्थीलाई व्यक्तिगत मार्गदर्शन, अतिरिक्त कक्षा र सिकाइमैत्री वातावरण उपलब्ध गराउँदै आएका छौँ,” उनी भन्छन्, “यो निरन्तर प्रयासकै परिणाम हो कि आज हामीले राष्ट्रिय स्तरमै प्रथम स्थान हासिल गरेका छौँ।”

विद्यालयको यस उपलब्धिले तुलसीपुरलाई राष्ट्रिय शैक्षिक नक्सामा स्थापित मात्र गरेको छैन, अभिभावकहरूलाई पनि विद्यालयप्रति थप विश्वास दिलाएको छ । अभिभावकहरू भन्छन्, ज्ञानज्योति केवल शैक्षिक संस्थामात्र होइन, भोलिका पुस्ता निर्माण गर्ने कारखाना हो ।

अब विद्यालयले आगामी वर्षहरूमा अझ बढी विद्यार्थीलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि तयार पार्ने रणनीति बनाएको जनाएको छ । विज्ञान र व्यवस्थापन दुवै संकायतर्फ देखिएको असाधारण सफलता यस विद्यालयलाई केवल नतिजामा मात्र नभई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गरिरहेको छ ।

कृष्ण र सन्दिपको यो उपलब्धि अब तुलसीपुरका हजारौँ विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ । उनीहरूको सफलता भन्छ – “मिहिनेत, अनुशासन र सही मार्गदर्शन भए लक्ष्य असम्भव हुँदैन ।”



प्रतिक्रिया दिनुहोस !