स्वस्तिश्रीको ग्रीष्मकालीन फुटबल क्याम्पमा कप्तान साम्बाको सहभागिता
काठमाडौँ । स्वस्तिश्री गुरुकुल आई.बी. वर्ल्ड स्कूलमा आयोजित ११औं ग्रीष्मकालीन फुटबल प्रशिक्षण क्याम्प २०२५ विशेष रूपमा स्मरणीय बन्यो, जहाँ नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान साम्बा (सावित्रा भण्डारी) को प्रेरणादायी उपस्थिति रह्यो।
मुख्य अतिथि स्वरूप सहभागी भएकी साम्बाले बाल खेलाडीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूलाई भविष्यमा फुटबलमार्फत राष्ट्रको प्रतिनिधित्व गर्न सकिने स्पष्ट सन्देश दिइन्। उनले फुटबलको मैदानमै सहभागी खेलाडीहरूसँग खेलेर उनीहरूलाई आत्मबल र प्रेरणा प्रदान गर्नुका साथै, “खेलले आत्मविश्वास मात्र होइन, जीवनमा अनुशासन, दृढता र राष्ट्रिय पहिचान पनि दिन्छ” भन्ने संदेश दिइन् ।
कार्यक्रममा विद्यालयका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य माननीय रामकृष्ण चित्रकार, विद्यालयका प्रबन्ध निर्देशक मिना महार्जन, प्रधानाध्यापक नेहा के.सी., स्रोत तथा खरीद विभाग प्रमुख टासी महार्जन, र अतिरिक्त क्रियाकलाप समन्वयक राकेश राईको पनि उपस्थिति थियो। विद्यालयको नेतृत्वद्वारा कप्तान साम्बालाई विद्यालयको आधिकारिक जर्सी तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
क्याम्पमा बाल खेलाडीहरूलाई विभिन्न अनुभवी तथा प्रमाणित प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन्। प्रशिक्षक जिबेश पाण्डे- पूर्व राष्ट्रिय खेलाडी तथा एपीएफ पुरुष र महिला टिमका प्रमुख प्रशिक्षक; उज्वल श्रेष्ठ – यू-१६ सातदोबाटो युथ क्लबका प्रमुख प्रशिक्षक, ललितपुर फुटबल एकेडेमी तथा स्वस्तिश्री स्पोर्ट्स एकेडेमीका प्रशिक्षक; ज्वाला विष्ट-एएनएफए प्रमाणित तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक; साथै प्रभास खत्री र अदित्य गिरी सहायक प्रशिक्षकका रूपमा प्रशिक्षण कार्यमा संलग्न छन्।
स्वस्तिश्रीले हरेक वर्ष ग्रीष्म, शीत र वसन्त गरी तीनवटा फुटबल क्याम्प सञ्चालन गर्दै आएको छ, जसले विद्यार्थीहरूमा खेलप्रतिको रुचि, अनुशासन, नेतृत्वदक्षता र टोली भावना विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको विद्यालयको भनाइ छ।








