देशभर मनसुनको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेकाले देशभर मनसुनको प्रभाव जारी छ। तर, जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै स्थानमा, देशका बाँकी पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशको तराई, साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।








