१९ मंसिर २०८२, शुक्रबार

अगामी २४ घण्टा देशभर मनसुन सक्रिय, पहिरो र बाढीको जोखिम

प्रकाशित मिति :  13 August, 2025 7:12 am


काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । यस्तै, कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने बाँकी भूभागमा साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिइएको छ । साथै, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात अवरुद्ध हुन सक्ने भएकाले सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सबैलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !